PLAYERS TO WATCH
करिब एक दशकअघि इंग्लिस क्लब टोटनह्याम हट्सपरबाट व्यावसायिक फुटबलमा उदय भएदेखि नै ह्यारी केनले लगातार असाधारण दरमा गोल वर्षा गरिरहेका छन्।
गोल गर्ने क्षेत्रभित्र उनको सटिकता अद्भूत छ। केनले दुवै खुट्टाको प्रयोग गरी अचम्मको सटीकताका साथ बल प्रहार गर्न सक्छन्। उनको प्रमुख विशेषता भनेको दुवै खुट्टा चलाउनु र सटीक गोल गर्न सक्नु नै हो।
कुन समयमा शक्तिको प्रयोग गर्ने र कुन बेला चलाखी देखाउने भन्ने कुरामा उनीसँग राम्रो बुझाइ छ। उनी 'एरियल बल'मा पनि उत्तिकै अब्बल छन्। सन् २०२२/२३ को सिजनमा प्रिमियर लिगमा १० वटा हेड गोल गरेर उनले एकै सिजनमा सबैभन्दा बढी हेड गोल गर्ने कीर्तिमान बनाएका थिए।
केन गोल गर्न मात्र होइन सहकर्मीलाई पास दिन पनि माहिर छन्। डिफेन्सलाई चिर्ने 'थ्रु-बल' होस् या लामो दूरीको सटीक पास, उनी निकै सिपालु छन्।
सन् २०२६ को विश्वकप नजिकिदै गर्दा इंग्ल्यान्डको भरोसा यिनै अद्भूत कप्तान ह्यारी केनमाथि छ। सन् १९६६ पछि विश्वकप जित्ने इंग्ल्यान्डको सपना सकार पार्न सक्ने क्षमता केनमा छ।
केनले व्यक्तिगत रूपमा धेरै प्रतिष्ठित सम्मान प्राप्त गरिसकेका छन्। उनले २०१८ को रसिया विश्वकपमा 'गोल्डेन बुट' जितेका थिए। त्यस्तैउनले तीन पटक प्रिमियर लिग, दुई पटक बुन्डेसलिगा र युईएफए यूरोमा पनि सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थान ओगटेका छन्। योबाट पनि प्रष्ट हुन्छ कि उनको क्षमता भनेको गोल गर्ने हो। जुन गोलले आफ्नो टोलीको भाग्य बदलिदिन सक्छन्।
लगातार गोल गरे पनि केनलाई उपाधि जित्न भने लामो समय कुर्न पर्यो। क्लब फुटबलतर्फ केनले सन् २०२४/२५ को सिजनमा जर्मन क्लब बायर्न म्युनिखलाई बुन्डेसलिगाको उपाधि दिलाउँदै आफ्नो पहिलो ठूलो उपाधि जिते।
राष्ट्रिय टोली इंग्ल्यान्डका लागि उनले सन् २०२० र २०२४ को यूरो कपमा उपविजेताको पदक जितेका छन् भने २०१८ को विश्वकपमा टोलीलाई चौथो स्थानसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

हाल इंग्ल्यान्डको राष्ट्रिय टोलीको प्रशिक्षक थोमस टुचेल छन्। उनी केनको निकै प्रसंशा गर्दै विश्वकपमा पनि गोल गर्न विश्वास गर्छन्।
टुचेल भन्छन्,‘ह्यारीको शारीरिक र मानसिक अवस्था उच्च स्तरको छ। उनले हाम्रा लागि लगातार गोल गर्छन्। उनको खेल्ने शैली, बल खोस्न पछि हट्ने र आक्रमणमा समाधान निकाल्ने कला उत्कृष्ट छ।’
इंग्ल्यान्डका पूर्वकप्तान वायन रुनी पनि केनका प्रशंसक हुन्। उनका लागि केन महान खेलाडीमध्येका एक हुन्। ‘मेरा लागि उनी इंग्ल्यान्डका अहिलेसम्मकै महान् 'नम्बर ९' स्ट्राइकर हुन्,’ रुनीले भने।
जर्मन क्लब वायर्नमा केनका प्रशिक्षक तथा म्यानचेस्टर सिटीका पूर्व कप्तान/डिफेन्डर भिसेन्ट कोम्पनी केनसँग गोल गर्ने धरै विकल्प भएको बताउँछन्।
‘ह्यारीसँग अविश्वसनीय अनुभव छ र डिफेन्डरसँगको दूरी कसरी सन्तुलन गर्ने भन्ने उनलाई राम्रो ज्ञान छ। उनी २५ मिटर टाढाबाट पनि गोल गर्न सक्छन्। उनीसँग गोल गर्ने धेरै विकल्पहरू छन्,’ कोम्पनीले भने।
केनले उत्तरी लन्डनको चिङफोर्ड फाउन्डेशन स्कूलमा पढेका थिए। यो स्कुलमा इंग्ल्यान्डका लिजेन्ड फुटबलर डेभिड बेकह्याम पनि पूर्व विद्यार्थी थिए।
टोटनह्यामको लेजेन्ड बन्नुअघि केन प्रतिद्वन्द्वी क्लब आर्सनलको एकेडेमीमा थिए। तर एक सिजनपछि नै आर्सनलले उनलाई हटाएको थियो।
अर्को रोचेक कुरा भनेको सन् २०१४ को युरोपा लिगमा एस्टेरास ट्रिपोलिस विरुद्धको खेलमा मुख्य गोलकिपर ह्युगो लोरिसले रातो कार्ड पाएपछि केनले गोल पोस्ट सम्हालेका थिए। त्यस खेलमा उनले ह्याट्रिक पनि गरेका थिए, यद्यपी गोलकिपिङ गर्दा एउटा फ्रि-किक भने रोक्न सकेका थिएनन्।

२१ वर्षको उमेरमा लिथुआनिया विरुद्धको खेलमा मैदान छिरेको मात्र ८० सेकेन्डमा उनले इंग्ल्यान्डका लागि पहिलो गोल गरेका थिए। मार्च २०२३ मा इटाली विरुद्ध ५४ औं गोल गर्दै उनले वेन रुनीको कीर्तिमान तोडेर इंग्ल्यान्डको सर्वाधिक गोलकर्ता बने। हाल उनी ७८ गोलसहित शीर्ष स्थानमा छन्।
गत फेब्रुअरी १४ मा वेडर ब्रेमेन विरुद्ध गोल गर्दै केन ५०० व्यावसायिक गोल गर्ने पहिलो अंग्रेजी खेलाडी बने। साथै, बुन्डेसलिगामा उनले हानेका २४ वटै पेनाल्टी गोलमा परिणत भएका छन्।
२०१८ को विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेका केनका लागि २०२२ को कतार विश्वकप भने पीडादायी रह्यो। फ्रान्स विरुद्धको क्वार्टरफाइनलमा पेनाल्टी चुकाउँदा इंग्ल्यान्ड बाहिरिएको थियो। केन भन्छन्, ‘त्यो मेरो करियरको कठिन क्षण थियो। तर, त्यसले मलाई मानसिक रूपमा झन् बलियो र अझ राम्रो खेलाडी बनायो।’
अहिले ३२ वर्ष पुगेका केन २०२६ को विश्वकपमा इंग्ल्यान्डको नेतृत्व गर्न पूर्ण रूपमा तयार छन्। प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इंग्ल्यान्डले छनोट चरणका सबै आठ खेल जितेर विश्वकपमा स्थान सुरक्षित गरेको छ।
केनको नजर अब ६० वर्षदेखिको विश्वकप उपाधिको खडेरी अन्त्य गरी १९६६ का लेजेन्डहरूको सूचीमा आफ्नो नाम लेखाउनुमा छ।
केन अमेरिकी फुटबल (एनएफएल) का ठूला फ्यान हुन्। टम ब्राडीको वृत्तचित्र हेरेपछि यो खेलप्रति उनको लगाव बढेको हो। भविष्यमा फुटबल करियर सकिएपछि एनएफएलमा 'किकर' को रूपमा खेल्ने उनको चाहना छ। २०२६ को विश्वकपका खेलहरू एनएफएल रंगशालामा हुने भएकोले उनी निकै उत्साहित छन्।
आफ्नो नेतृत्वका बारेमा केन भन्छन्, ‘कप्तान हुनु मेरो लागि उच्च सम्मानको कुरा हो। म अहिले पहिलेको तुलनामा धेरै अनुभवी कप्तान बनेको छु। टोलीमा एउटा दाजुभाइको जस्तो सम्बन्ध बनेको छ। हामी सबैको लक्ष्य एउटै छ र हामी त्यसका लागि कडा परिश्रम गर्न तयार छौं।"
अब आगामी जुन १७ मा अमेरिकाको टेक्सासस्थित डल्लासमा क्रोएसिया विरुद्धको खेलबाट सुरु हुने उनको विश्वकप यात्रामा सबैको आँखा उनकै गोल गर्ने कलामा हुनेछ।