फिफा विश्वकप २०२६ को तयारीमा रहेको स्वीट्जरल्याण्डको टोलीलाई ठूलो झट्का लागेको छ। टोलीका मुख्य फरवार्ड ब्रिल एम्बोलोलाई अमेरिकी अधिकारीहरूले अन्तिम समयमा यात्रा अनुमतिमा थप छानबिन गर्ने निर्णय गरेपछि उनी टोलीसँग अमेरिका जान पाएनन्।
स्वीस फुटबल संघका अनुसार टोली प्रस्थान गर्नुभन्दा केही घण्टा अघि मात्र एम्बोलोको यात्रा अनुमतिमाथि पुनरावलोकन भइरहेको जानकारी दिइएको थियो। बिहान साढे १० बजेसम्म उनको अनुमति सदर भए पनि अचानक छानबिनको सूचना आएको थियो।
२९ वर्षीय एम्बोलोलाई सन् २०२३ मा स्वीट्जरल्याण्डको एक अदालतले धम्की दिएको अभियोगमा दोषी ठहर गरेको थियो। यद्यपि, उक्त सजायपछि पनि उनले सन् २०२५ मा अमेरिका गएर खेलिसकेका थिए।
अमेरिका प्रवेशमा देखिएको यस्तै कडाइका कारण इरानको टोलीले पनि भिसा समस्या भोगिरहेको छ। इरानले आफ्नो खेलहरू अमेरिकामा भए तापनि भिसा झमेलाका कारण आफ्नो प्रशिक्षण शिविर मेक्सिकोमा राखेको छ। थुप्रै देशका फुटबल समर्थकहरूले पनि अमेरिकाको भिसा पाउन कठिन भइरहेको गुनासो गरेका छन्।
स्वीट्जरल्याण्डले जुन १३ मा सान फ्रान्सिस्कोमा कतार विरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दैछ। उसको समूहमा क्यानडा र बोस्निया एण्ड हर्जगोभिना पनि रहेका छन्।
एम्बोलोले स्वीट्जरल्याण्डका लागि ८६ खेल खेल्दै २४ गोल गरिसकेका छन्। उनी टोलीका महत्त्वपूर्ण सदस्य हुन्।
टोलीका अन्य सदस्यहरू अमेरिकातर्फ प्रस्थान गरिसकेका छन्। स्वीस टोलीले सामाजिक सञ्जाल इन्स्टाग्राममा जहाजभित्रको एक खाली सिटको तस्बिर राख्दै, ‘एक सिट खाली छ, तर धेरै समयका लागि होइन। छिट्टै भेटौँला एम्बोलो’ भन्दै उनी छिट्टै टोलीमा सहभागी हुने आशा व्यक्त गरेको छ।
अमेरिकी गृह मन्त्रालय र विदेश मन्त्रालयले यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।