अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सन् १९३० बाट विश्वकप आयोजना गर्न थालेको हो। हरेक चार वर्षमा हुने फुटबलको महाकुम्भ पहिलोपटक उरूग्वेबाट सुरू भएको थियो।
सन् १९३० देखि हालसम्म आइपुग्दा विश्वकप फुटबलमा धेरै रेकर्ड बनिसकेका छन्।
विश्वकप फुटबलका केही रोचक तथ्य यहाँ प्रस्तुत गरिएको छ।
पहिले कुरा गरौं, सबभन्दा धेरै ६ वटा संस्करणमा खेल्ने खेलाडीहरूबारे।
अर्जेन्टिनाका लिओनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले लगातार ६ संस्करणको विश्वकप खेलेर कीर्तिमान बनाउँदैछन्। दुवै खेलाडीले सन् २००६ देखि लगातार विश्वकप खेलिरहेका छन्।
आफ्नो कार्यकालमा लगातार दुईपटक विश्वकप जिताउने व्यवस्थापकको रेकर्ड इटालीका भिटोरियो पोजोको नाममा छ। उनको व्यवस्थापनमा इटालीले १९३४ र १९३८ को संस्करण जितेको थियो। उनको रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन।
विश्वकपमा सबभन्दा बढी गोल गर्ने रेकर्ड जर्मनीका मिरोस्लाभ कोल्जको नाममा छ। सन् १९३० देखि २०१८ सम्मका विश्वकप संस्करणमा उनले १६ गोल गरेका थिए।
विश्वकप ट्रफीको पहिलो नाम भिक्ट्री राखिएको थियो। सन् १९४६ पछि फिफाका तेस्रा अध्यक्ष जुलेस रिमेटको नामबाट ट्रफीको नामाकरण गरियो।
विश्वकपको अर्को रोचक पक्ष भनेको इंग्ल्याण्ड र पोल्याण्ड अहिलेसम्मकै सबैभन्दा धेरै १३ पटकका प्रतिद्वन्द्वी हुन्।
विश्वकपका खेलमा ५३ वटा ह्याट्रिक भएका छन्। सर्वाधिक ७ ह्याट्रिक पश्चिम जर्मनी र जर्मनीको नाममा छ। हंगेरीको नाममा पाँच र अर्जेन्टिनाको नाममा चार ह्याट्रिक रेकर्ड भएका छन्।
एउटै संस्करणमा डबल ह्याट्रिकको रेकर्ड तीन खेलाडीको नाममा छ। सन् १९५४ को संस्करणमा हंगेरीका सन्दुर कसिसले डबल ह्याट्रिक गरेका थिए। सन् १९५८ को संस्करणमा फ्रान्सका जस्ट फन्टेनले यो सूचीमा नाम लेखाए।
सन् १९७० मा जर्मनीका गर्ड मुलरले डबल ह्याट्रिक गरे।
सन् १९३० देखि हालसम्मका सबै संस्करण खेलेको राष्ट्र ब्राजिलमात्रै हो। ब्राजिलले २२ वटा संस्करणमा ११४ खेले खेलेको ब्राजिलले पाँच पटक उपाधी जितेको छ।