विश्वकप फुटबल सुरु हुन अब एक हप्ता मात्र बाँकी छ, तर टिकटको मूल्य र उपलब्धतालाई लिएर फुटबल जगतमा ठूलो खैलाबैला मच्चिएको छ।
फिफाले सबै खेलका टिकटहरू बिक्री भइसकेको दाबी गरे पनि वास्तविकता भने निकै फरक देखिएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले केही समयअघि ‘सबै खेलका टिकट बिक्री भइसकेको’ बताएका थिए। तर, अहिले आधाभन्दा बढी खेलका हजारौँ टिकटहरू अझै उपलब्ध छन्। विशेषगरी साना राष्ट्रहरूबीच हुने खेलका टिकटहरू कसैले नकिनेपछि अहिले वास्तविक मूल्यभन्दा निकै सस्तोमा बेच्न राखिएको छ।
टिकट बिक्रीमा पारदर्शिता नभएको र फ्यानहरूलाई झुक्काएको भन्दै अमेरिकाको न्युयोर्क र न्युजर्सीका सरकारी वकिलहरूले फिफामाथि आधिकारिक रूपमा छानबिन सुरु गरेका छन्।
• आरोप १: फिफाले टिकटको मूल्य पहिले नै सार्वजनिक नगरी मनलाग्दी बढाएको।
• आरोप २: महँगो पैसा तिरेका फ्यानहरूलाई सस्तो मूल्यको र मैदानभन्दा टाढाको सिट दिएको।
• आरोप ३: टिकटको मूल्यमा लुकामारी खेलेर फ्यानहरूलाई अन्योलमा पारेको।
बीबीसीको अनुसन्धान अनुसार फिफाले आफ्नै आधिकारिक साइटमा नबिकेका टिकटहरू लुकीछिपी अन्य निजी टिकट बिक्री गर्ने साइटहरूमार्फत बेचिरहेको छ। मैदानमा सिटहरू खाली नदेखिउन् भन्नका लागि फिफाले यस्तो रणनीति अपनाएको हुनसक्ने अनुमान गरिएको छ।
केही खेलहरूमा त टिकटको मूल्य ६४ प्रतिशतसम्म घटेको छ। उदाहरणका लागि जोर्डन विरुद्ध अल्जेरिया: ६२० डलर पर्ने टिकट अहिले मात्र १७१ डलरमा पाइन थालेको छ। चेक रिपब्लिक विरुद्ध दक्षिण अफ्रिका: ३४२ पाउन्डको टिकट १९० पाउन्डभन्दा कममा उपलब्ध छ।
अर्जेन्टिना, ब्राजिल, इङ्गल्याण्ड जस्ता ठूला टोलीका खेलहरू भरिए पनि आयोजक राष्ट्रहरू (अमेरिका, क्यानडा, मेक्सिको) का खेलहरूमै टिकट बाँकी छन्। मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलका ५०० भन्दा बढी सिट अझै खाली छन्, जसको एउटा टिकटको मूल्य फिफाले २,२७३ डलर (करिब ३ लाख नेपाली रुपैयाँ) तोकेको छ।
अत्यधिक महँगो मूल्यका कारण फुटबल समर्थकहरूले टिकट किन्न चासो नदेखाउँदा इतिहासकै ठूलो भनिएको यो विश्वकपमा धेरै सिटहरू खाली रहने डर पैदा भएको छ।