PLAYERS TO WATCH
बाल्यकालमा मोहमद सलाह आफ्ना दाइसँग फुटबल खेल्दा ब्राजिलका रोनाल्डो, इटालीका फ्रान्सेस्को टोट्टी वा फ्रान्सका जिनेदिन जिदान बनेको अभिनय गर्थे। उनीहरूकै हाउभाउ नक्कल गर्ने प्रयास गर्थे।
बाल्यकालमा देखेका ती सपनाले उनलाई यस्तो उचाइमा पुर्यायो कि आज उनी तिनै महान् खेलाडीसँगै इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाउन सफल छन्। अहिले उनको जस्तो निक्कल गर्ने संसारभर लाखौं फ्यान छन्।
सलाहको अद्भूत यात्रा सहज पक्का थिएन। निकै निकै संघर्षपूर्ण थियो। किशोर अवस्थामा इजिप्टको 'अल मोकावलुन' को युवा टोलीबाट खेल्दा उनी बिहान ७ देखि ९ बजेसम्म मात्र विद्यालयमा हुन्थे।
त्यसपछि फुटबल अभ्यासका लागि निस्कन्थे। ट्रेनिङ सेन्टरमा पुग्न उनलाई ५ वटा बस फेर्दै ४ घण्टाभन्दा बढी समय लाग्थ्यो। उनी राति १० बजेभन्दा अगाडि कहिल्यै घर फर्कन पाउँदैनथे। यही अथक मेहनतले उनलाई सफलताको बाटो देखायो। इजिप्ट हुँदै युरोपियन फुटबलको यात्रा गर्दै विश्व फुटबलमा आफ्नो छाप छाड्न सफल भए।
२० वर्षको उमेरमा स्विट्जरल्याण्डको बासेल क्लबमा आबद्ध भएपछि उनको करिअरले उचाइ लियो। जहाँ उनले दुईवटा लिग उपाधि जिते।
त्यसछि इंग्ल्यान्ड लागेका उनको लक्ष्य सोचे जस्तो भएन। इंग्लिस क्लब चेल्सीमा केही समय सोचेजस्तो हुन नसकेपछि सलाह इटाली पुगे।
इटालीमा फियोरेन्टिना र रोमामा उनले आफ्नो जादू देखाए। रोमामा रहँदा उनले ८३ खेलमा ५५ गोलमा योगदान दिए। विशेष त उनले आफ्ना बाल्यकालका आदर्श खेलाडी टोट्टीसँग २९ पटक मैदान साझा गर्ने अवसर पाए। सन् २०१७ मा टोट्टीको बिदाइ खेलमा मैदान प्रवेश गर्दा टोट्टीका लागि ठाउँ छाडिदिने खेलाडी उनै सलाह थिए।
सन् २०१७ मा जब उनी इंग्लिस क्लब लिभरपुलमा आबद्ध भए प्रिमियर लिगको इतिहास नै बदलियो। लिभरपुलका जर्मन प्रशिक्षक जर्गेन क्लोपले सुरुमा अर्कै खेलाडी (जुलियन ब्रान्ड) चाहेका थिए, तर क्लबको एक समितिले तथ्यांकको आधारमा सलाह नै उपयुक्त हुने भन्दै क्लोपलाई मनाए।
सलाहले लिभरपुलमा पहिलो सिजनमै ४४ गोल गरेर सबैलाई अचम्ममा पारे। यो ३४ वर्षयता कुनै पनि लिभरपुलका खेलाडीले एकै सिजनमा गरेको सबैभन्दा धेरै गोल थियो।
त्यसपछिका हरेक सिजनमा उनले कम्तीमा २३ गोल गरिरहेका छन्। उनले क्लबका आइकनहरू रोबी फाउलर, स्टिभ जेरार्ड र गोर्डन हड्सनलाई पछि पार्दै लिभरपुलको सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थान ओगटेका छन्। सन् २०२५ को नोभेम्बरमा एस्टन भिल्लाविरुद्ध गोल गर्दै उनले लिभरपुलका लागि २५० औँ गोलको कोसेढुङ्गा पार गरे।
सलाहको नाममा रेकर्डहरूको चाङ छ। उनी प्रिमियर लिग र च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने अफ्रिकी खेलाडी हुन्। थियरी हेनरीसँगै चार पटक 'गोल्डेन बुट' जित्ने उनी मात्र दोस्रो खेलाडी हुन्। २०२४/२५ को सिजनमा उनले २९ गोल र १८ असिस्ट गर्दै एकै सिजनमा सबैभन्दा धेरै गोल योगदान दिने नयाँ कीर्तिमान रचे। सन् २०२५ को डिसेम्बरमा उनले वायन रुनीलाई पछि पार्दै प्रिमियर लिगको एउटै क्लबका लागि सबैभन्दा धेरै गोल र असिस्ट (२७७) गर्ने कीर्तिमान आफ्नो नाममा गरे।

मैदानबाहिर सलाह चेस (बुद्धिचाल) का सौखिन छन्। 'चेस डट कम' मा १४०० स्कोर बनाइसकेका सलाह भन्छन्, ‘मलाई चेसको लत नै लागेको छ, यसले मलाई फुटबलबाट केही समय टाढा राख्छ।’
उनको अनुशासन र क्षमताले गर्दा नै जर्गेन क्लोप उनलाई 'सच्चा रोल मोडल' मान्छन् भने केलियन एमबाप्पे र भर्जिल भान डाइक उनलाई विश्वकै उत्कृष्ट खेलाडीको दर्जा दिन्छन्।
अन्तर्राष्ट्रिय फुटबलमा पनि सलाहको दबदबा उस्तै छ। इजिप्टका लागि ११५ खेलमा ६७ गोल गरिसकेका उनी देशका लागि दोस्रो धेरै गोल गर्ने खेलाडी हुन्।
तर इजिप्टबाट भने उनले मुख्य ट्रफीको स्वाँद चाख्न पाएका छैनन्। विश्वकप फुटबलमा इजिप्टको उपस्थिति राम्रो छैन। तर अफ्रिकन कप अफ नेसन्समा भने इजिप्ट सबैभन्दा सफल टोली हो। उसले सात पटक उपाधि जितेको छ। उसले २०१० मा पछिल्लो उपाधि जितेको थियो। दुर्भाग्य इजिप्ट फुटबलका पोस्टर ब्वाइ सलाहको आगमनसँगै ट्रफी बिहिन बन्न परेको छ। सन् २०१७ र २०२१ मा फाइनलमा पुगे पनि उपविजेतामै चित्त बुझाउन परेको थियो।
सन् २०१८ को विश्वकपमा २८ वर्षपछि इजिप्टलाई पुर्याउन सलाहको मुख्य भूमिका थियो। चोटका बावजुद रुस विश्वकप खेलेका उनले त्यहाँ रुस र साउदी अरेबियाविरुद्ध गोल गरेर सन् १९३४ पछि विश्वकपको ओपन प्लेमा गोल गर्ने पहिलो इजिप्टेली खेलाडी बनेका थिए।
अहिले ३३ वर्ष पुगेका सलाहको ध्यान अब विश्वकप २०२६ मा केन्द्रित छ। विश्वकप छनोटको इतिहासमा २० गोल गर्दै उनी शीर्ष अफ्रिकी स्कोरर बने। इजिप्टको टोली यसपटक विश्वकपमा आफ्नो पहिलो जितको खोजीमा छ। आगामी विश्वकपमा न्युजिल्याण्डसँगको खेल हुनुभन्दा एक दिन अगाडि उनी ३४ वर्षका हुनेछन्। इजिप्टका लागि यो नै विश्वकपमा ऐतिहासिक जित निकाल्ने सबैभन्दा ठूलो अवसर हुनेछ।
लिभरपुलमा ९ वर्षको सुनौलो समय बिताएर यसै सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरिसकेका सलाहले इजिप्टको कप्तानी सम्हाल्नेछन्। उनको साथमा ओमार मार्मुस, ट्रेजेगुएट र बार्सिलोनाका युवा खेलाडी हाम्जा अब्देलकरिम जस्ता प्रतिभाहरू हुनेछन्। समूह 'जी' मा रहेको इजिप्टले बेल्जियम, न्युजिल्याण्ड र इरानको सामना गर्नेछ।
ती पाँच वटा बस चढेर फुटबल प्रशिक्षणमामा जाने बालकदेखि विश्वकै महान् खेलाडीसम्मको सलाहको यो यात्रा फुटबल इतिहासमा सधैँ अद्भूत र प्रेरणादायी रहनेछ।