स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडका विङ्गर जुलियानो सिमेओनीले सन् २०२६ को फिफा विश्वकपका लागि अर्जेन्टिनाको टोलीमा पर्नु आफ्नो कडा मिहिनेतको परिणाम भएको बताएका छन्।
प्रशिक्षक डिएगो सिमेओनीका छोरा जुलियानोले गम्भीर चोट र संघर्षलाई चिर्दै विश्वकपको टोलीमा स्थान बनाएका हुन्।
सन् २०२३ को अगस्टमा एलाभेसबाट खेल्ने क्रममा उनको खुट्टाको हड्डी भाँच्चिनुका साथै गोलीगाँठो विस्थापित भएको थियो। उक्त गम्भीर चोटका बाबजुद उनले हार नमानी पुनरागमन गरे।
नोभेम्बर २०२४ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यू गरेका २३ वर्षीय सिमेओनीले छोटो समयमै आफूलाई प्रमाणित गरेका छन्। उनले ब्राजिलविरुद्धको विश्वकप छनोट खेलमा ४-१ को जित निकाल्दा गोल समेत गरेका थिए, जसलाई उनी आफ्नो करिअरको सबैभन्दा सुखद क्षण मान्छन्।
फिफासँगको विशेष कुराकानीमा सिमेओनीले भने, ‘विश्वकप खेल्नु कुनै पनि खेलाडीको करिअरको शिखर हो। चोट लागेको बेला पनि मेरो दिमागमा विश्वकप खेल्ने लक्ष्य मात्र थियो।’
उनले लिओनल मेसीसँग खेल्न पाउनुलाई एउटा 'सपना' को संज्ञा दिँदै मेस्सीलाई मैदानभित्र र बाहिरको एक सच्चा नेता बताए।
प्रशिक्षक लियोनेल स्कालोनीको प्रशंसा गर्दै उनले टोलीमा आफ्नो स्थान सुरक्षित राख्न निरन्तर मिहिनेत आवश्यक रहेको उल्लेख गरे।
फुटबलमय परिवारमा हुर्किएका सिमेओनीले २०१० को विश्वकपका यादहरू ताजा गर्दै यसपटक साविक विजेताको हैसियतमा मैदान उत्रँदा आफ्नो शतप्रतिशत दिने प्रतिबद्धता जनाए।
अर्जेन्टिनाले आगामी जुन १६ मा अल्जेरियाविरुद्ध खेल्दै आफ्नो विश्वकप अभियानको सुरुवात गर्नेछ। सिमेओनीका लागि यो यात्रा केवल एक प्रतियोगिता मात्र नभई, चोट र समयविरुद्धको जितको प्रतीक बनेको छ।
