विश्वकप सुरु हुनुअघि नै ब्राजिलका मुख्य डिफेन्डर (फुल-ब्याक) वेस्ले तिघ्राको चोटका कारण विश्वकपबाट बाहिरिएका छन्।
उनको स्थानमा म्यानचेस्टर युनाइटेडसँग अनुबन्धको तयारीमा रहेका मिडफिल्डर एडरसनलाई टोलीमा बोलाइएको छ।
इजिप्ट विरुद्धको मैत्रीपूर्ण खेल सुरु भएको १५ मिनेटमै २२ वर्षीय वेस्ले घाइते भएका थिए। चोट लागेपछि उनी रुँदै मैदानबाट बाहिरिएका थिए। एमआरआई स्क्यान गर्दा उनको देब्रे तिघ्राको मांसपेशीमा गहिरो चोट लागेको पुष्टि भएको छ। ब्राजिलियन फुटबल महासंघले एक विज्ञप्ति जारी गर्दै वेस्ले टोलीको महत्वपूर्ण सदस्य रहेको र उनको अनुपस्थिति खड्किने बताएको छ।
वेस्लेको ठाउँमा टोलीमा आएका २६ वर्षीय एडरसन हाल इटालीको एटलान्टा क्लबमा आबद्ध छन्। उनी करिब ३५ मिलियन पाउण्ड (करिब ६ अर्ब नेपाली रुपैयाँ) मा म्यानचेस्टर युनाइटेड जान लागेका छन्। उनी सोमबार अमेरिकामा ब्राजिलियन टोलीसँग जोडिनेछन्।
विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा ब्राजिलले इजिप्टलाई २-१ ले पराजित गरेको छ। खेलको ७औँ मिनेटमा ब्रुनो गुइमारेसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।
११औँ मिनेटमा इजिप्टका मोस्ताफा जिकोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। दोस्रो हाफमा १९ वर्षीय युवा स्टार एन्ड्रीकले गोल गर्दै ब्राजिललाई २-१ को जित दिलाए।
ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन्।
ब्राजिल रहेको समूहमा स्कटल्याण्ड, मोरक्को र हाइटी रहेका छन्।
यसै समूहको अर्को खेलमा हाइटी पेरुसँग २-१ ले पराजित भएको छ भने स्कटल्याण्डले बोलिभियालाई ४-० को फराकिलो अन्तरले हराएको छ।