PLAYERS TO WATCH
दक्षिण कोरियाका सन ह्युङ-मिनले एसियन फुटबलका ‘पोस्टर ब्वाय’ हुन्। एसियाका महान फुटबलरको सूचीमा सनको नाम पहिलो नम्बरमा आउछ। त्यसैले उनी एसियन फुटबलका इतिहास निर्माता हुन्।
युरोपमा १५ वर्षको उत्कृष्ट करिअरपछि हाल सन अमेरिकाको एमएलएस क्लब 'लस एन्जलस एफसी'बाट खेलिरहेका छन्।
सन आफ्नो चौथो फिफा विश्वकप खेल्ने तयारीमा छन्। उनी आफ्नो देशका मुख्य खम्बा हुन् र विश्वस्तर पुनः जादुमयी प्रदर्शन गर्न आतुर छन्।
सनले आफूलाई विश्वकै उत्कृष्ट फरवार्डको रूपमा स्थापित गरेका छन्। उनीसँग तीव्र गति र गोल गर्ने अद्भुत कला छ। उनी गोल गर्न मात्र होइन गोलका अवसर सिर्जना गर्न (प्लेमेकिङ) पनि उत्तिकै सिपालु छन्।
सन् २०१५ देखि २०२५ को बीचमा उनले प्रिमियर लिगका तीनवटा सिजनमा १० भन्दा बढी 'असिस्ट' गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।
१८ वर्षको उमेरमा जर्मन बुन्डेसलिगाबाट करिअर सुरु गरेका सनले हामबर्गबाट तीन सिजनमा २० गोल तथा लेभरकुसेनबाट दुई सिजनमा २१ गोल गरे। यहि प्रदर्शनले उनको यात्रा इंग्लिस प्रिमियर लिगसम्म पुग्यो।
सन् २०१५ मा २३ वर्षको उमेरमा उनी टोटेनहम गए। टोटेनहमबाट खेल्दा उनी प्रिमियर लिगका उत्कृष्ट खेलाडी बने। सन् २०१९ मा बर्नलीविरुद्ध सातजना विपक्षी खेलाडीलाई छक्याउँदै उनले गरेको 'सोलो' गोलले फिफा पुस्कास अवार्ड र प्रिमियर लिगको 'सिजनकै उत्कृष्ट गोल' को उपाधि जितेको थियो। यहिँ गोलको अहिले पनि चर्चा हुने गरेको छ।
टोटेनहममा रहँदा उनले ४५४ खेलमा १७३ गोल गरे। गत सिजन उनकै कप्तानीमा टोटेनहमले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै युइएफए युरोपा लिगको उपाधि जित्यो।
व्यावसायिक फुटबल सुरु गरेको १५ वर्षपछि उनले आफ्नो देशको झण्डा ओढेर पहिलो ठूलो ट्रफी उचाले। टोटेनहमका लागि त्यो उनको अन्तिम खेल थियो। त्यसपछि उनी अमेरिका गए। क्लब फुटबल अमेरिकामा खेलिरहदा अहिले उनी देशका लागि विश्वकप त्यहिँ हुँदा थप आत्मविश्वासी हुनेछन्।
प्रशिक्षक मौरिसियो पोचेटिनो उनको बारेमा भन्छन्, ‘हामी एकअर्कालाई धेरै माया गर्छौँ। टोटेनहममा मेरो समयमा उनी सबैभन्दा महत्त्वपूर्ण खेलाडी थिए। उनले अमेरिकी लिमा फुटबलको विकासका लागि ठूलो योगदान दिनेछन्।’
दक्षिण कोरियाको चुन्चोनमा जन्मेका सनले आफ्ना बुबा (पूर्व फुटबलर) को प्रेरणामा फुटबल खेल्न सिकेका थिए। अचम्मको कुरा के छ भने उनी १३ वर्षको उमेरसम्म कुनै औपचारिक टोलीमा आबद्ध भएका थिएनन्।
सन् २००८ मा उनी कोरिया फुटबल संघको कार्यक्रममार्फत जर्मनीको हामबर्ग एकेडेमीमा भर्ना भए। सन् २००९ को यू–१७ विश्वकपमा उनको प्रदर्शन देखेर जर्मन क्लबले उनलाई व्यावसायिक सम्झौता प्रस्ताव गरेको थियो।
सन दक्षिण कोरियाका लागि सबैभन्दा धेरै (१४० खेल) अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन्। ५४ अन्तर्राष्ट्रिय गोलसहित उनी चा बम-कुनको ५८ गोलको कीर्तिमान तोड्ने नजिक छन्।
विश्वकपमा उनले ३ गोल गरेका छन्, जुन दक्षिण कोरियाका लागि आन जुङ-ह्वान र पार्क जी-सुङसँले बनाएको कीर्तिमान बराबर हो।
२०२६ को विश्वकपमा थप एक गोल गरेमा उनी जापानका केइसुके होन्डालाई उछिनेर विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने एसियाली खेलाडी बन्नेछन्।
प्रिमियर लिगमा १०० गोल पूरा गर्ने उनी पहिलो र एक मात्र एसियाली खेलाडी हुन्। सन र ह्यारी केनको जोडीले प्रिमियर लिगमा मिलेर ४७ गोलको कीर्तिमान बनाएका छन्।
उनको दाहिने खुट्टा मुख्य भए पनि उनी दुवै खुट्टाले उत्तिकै राम्रो प्रहार गर्न सक्छन्। सन् २०२१/२२ को गोल्डेन बुट जित्दा उनले ११ गोल दाहिने र १२ गोल देब्रे खुट्टाले गरेका थिए।
अमेरिकाको एमएलएसमा आबद्ध भएलगत्तै उनले सान जोसविरुद्ध फ्रि-किकमार्फत उत्कृष्ट गोल गर्दै 'सिजनकै उत्कृष्ट गोल' को अवार्ड जितेका थिए।
सनले सन् २०१४ को विश्वकपमा डेब्यू गरेका थिए, जहाँ उनले अल्जेरियाविरुद्ध आफ्नो पहिलो विश्वकप गोल गरे। सन् २०१८ को विश्वकपमा दक्षिण कोरिया समूह चरणबाट बाहिरिए पनि उनले मेक्सिको र तत्कालीन च्याम्पियन जर्मनीविरुद्ध गोल गरे। जर्मनीलाई २–० ले हराउँदा उनले खाली पोस्टमा गरेको गोल ऐतिहासिक थियो।
सन् २०२२ को कतार विश्वकपमा सन टोलीको कप्तान थिए। अनुहारमा चोट लागेर मास्क लगाएरै खेलेका उनले पोर्चुगलविरुद्धको निर्णायक खेलमा इन्जुरी समयमा ह्वाङ ही-चानलाई गोलका लागि सुन्दर पास दिएका थिए। सोही गोलको मद्दतले कोरिया १२ वर्षपछि विश्वकपको नकआउट चरणमा पुग्न सफल भएको थियो।
अहिले मुख्य प्रशिक्षक हङ म्युङ-बोको नेतृत्वमा सनले कोरियाली टोलीको कप्तानी गरिरहेका छन्। ली काङ-इन, किम मिन-जे र ह्वाङ ही-चान जस्ता प्रतिभावान खेलाडीहरू रहेको यो टोलीलाई
दक्षिण कोरियाको 'स्वर्ण पुस्ता' मानिएको छ। २०२६ को विश्वकपमा यो टोलीले अघिल्लो संस्करणभन्दा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
दक्षिण कोरियाले यसपटक विश्वकपको समूह चरणमा सहआयोजक मेक्सिकोसहित चेक गणतन्त्र र दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।