PLAYERS TO WATCH
केभिन डी ब्रुइना फुटबल जगतका त्यस्ता खेलाडी हुन्, जसलाई 'आधुनिक फुटबलको इन्जिन' मानिन्छ।
उनी मैदानमा यसरी बल अगाडि बढाउँछन्, विपक्षी टोलीले पत्तै पाउँदैन। आफ्ना सहकर्मीलाई गोल गर्न सही समयमा अचुक पास मिलाइदिनु उनको सबभन्दा ठूलो विशेषता हो।
गोल गर्ने अवसर सिर्जना गर्ने मात्र होइन, उनी आफै पनि टाढाबाट शक्तिशाली र कलात्मक गोल गर्न माहिर छन्।
चोटका कारण केही महिना मैदान बाहिर रहे पनि उनी अहिले पूर्ण रूपमा निको भएर सन् २०२६ को विश्वकपका लागि बेल्जियमको टोलीलाई नेतृत्व दिन तयार छन्।
बेल्जियमको गेन्क एकेडेमीबाट फुटबल सिक्न सुरू गरेका डी ब्रुइनालाई सानै उमेरमा इंग्लिस क्लब चेल्सीले अनुबन्ध गरेको थियो। तर त्यहाँ उनले आफ्नो प्रतिभा देखाउने पर्याप्त मौका पाएनन्।
चेल्सीले उनलाई कहिले लोनमा पठायो त कहिले बेन्चमा राख्यो। अन्ततः उनी जर्मनीको उल्फसबर्ग क्लबमा गए। त्यहीँबाट उनको वास्तविक चमक संसारले देख्यो। एकै सिजनमा युरोपका ठूला लिगहरूमध्ये सबभन्दा धेरै 'असिस्ट' (गोलका लागि पास) गर्ने खेलाडी बनेर उनले लिओल मेस्सी र सेस फाब्रिगास जस्ता हस्तीलाई समेत पछि पारे।
सन् २०१५ मा इंग्लिस म्यानचेस्टर सिटीमा आबद्ध भएपछि डी ब्रुइनाको खेल जीवनले नयाँ उचाइ लियो। प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा उनी टोलीका मेरूदण्ड बने। उनले सिटीमा रहँदा ७ सिजनमध्ये ६ पटक प्रिमियर लिगको उपाधि जिते। उनको करिअरको सबभन्दा ठूलो उपलब्धि सन् २०२३ मा सिटीलाई पहिलो पटक 'युइएफए च्याम्पियन्स लिग' जिताउनु रह्यो।
त्यसपछि सिटीले क्लब विश्वकप पनि जित्यो। म्यानचेस्टर सिटीका लागि १० वर्ष खेल्दा उनले १७७ वटा गोलको अवसर सिर्जना गरे, जुन क्लबको इतिहासमा सबभन्दा धेरै हो।
लामो समय सिटीमा बिताएपछि सन् २०२५ जुलाईमा उनी इटालीको प्रसिद्ध क्लब नापोलीमा आबद्ध भए। त्यहाँ पनि उनले प्रशिक्षक एन्टोनियो कोन्टेको टोलीमा सुरूआतमै उत्कृष्ट छाप छाडे।
बीचमा मांसपेसीको चोटले केही समय समस्या पारे पनि सन् २०२६ मार्चमा मैदान फर्किएर उनले प्रमाणित गरिदिए — फर्म र फिटनेस अस्थायी हुन सक्छन्, तर श्रेणी सधैं स्थायी हुन्छ।
सन् २०१० मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका डी ब्रुइना अहिले बेल्जियमका सबभन्दा अनुभवी खेलाडीमध्ये एक हुन्। उनले सन् २०२४ मा मोन्टेनेग्रोविरूद्ध खेल्दै आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल पूरा गरे। उक्त विशेष खेलमा उनले गोल गरेर आफ्नो टोलीलाई २-० को जित दिलाएका थिए।
बेल्जियमका लागि हालसम्म उनले ३६ गोल गरिसकेका छन् र उनी देशका लागि सबभन्दा धेरै खेल्ने छैटौं खेलाडी हुन्।

२०१४ विश्वकपमा बेल्जियमलाई क्वार्टरफाइनलसम्म पुर्याउन उनले महत्त्वपूर्ण गोल र पासहरू दिएका थिए। चार वर्षपछि २०१८ विश्वकपमा ब्रुइनाको करिअरको सुखद मोड थियो। ब्राजिलविरूद्ध क्वार्टरफाइनलमा उनले गरेको प्रहार आज पनि फुटबलप्रेमीले बिर्सिएका छैनन्। बेल्जियमले उक्त विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो।
कतारमा भएको सन् २०२२ को विश्वकप बेल्जियमका लागि निराशाजनक रह्यो र टोली समूह चरणबाटै बाहिरियो।
अब सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा डी ब्रुइना आफ्नो अनुभव र कौशलको मद्दतले बेल्जियमलाई पहिलो पटक विश्वविजेता बनाउने लक्ष्यमा छन्।
फुटबल मैदानमा उनी 'परफेक्ट' हुन चाहन्छन्, जसले गर्दा कहिलेकाहीँ उनी आफ्नै साथीहरूसँग रिसाए जस्तो देखिन्छन्। तर पूर्वप्रशिक्षक थियरी हेनरी भन्छन्, 'उनको दिमाग मैले देखेका फुटबलरमध्येकै उत्कृष्ट छ।'
उनले आफ्नो 'केबिडी' नामको कपडा ब्रान्डबाट आउने नाफाको केही हिस्सा 'स्पेसल ओलम्पिक' (बौद्धिक अपांगता भएकाहरूको खेलकुद) लाई सहयोग गर्छन्।
१० वर्षको उमेरमा दिएको एक अन्तर्वार्तामा उनले आफू लिभरपुलको फ्यान भएको र माइकल ओवेनको खेल मनपर्ने बताएका थिए।
डी ब्रुइना एक यस्ता खेलाडी हुन् जसले फुटबललाई गणित र कलाको मिश्रणका रूपमा खेल्छन्। ३० वर्ष उमेर नाघिसक्दा पनि उनको पास दिने सटिकता र खेल पढ्ने क्षमतामा कुनै कमी आएको छैन।
२०२६ को विश्वकपमा उनी विश्वभरका फुटबल प्रेमीका लागि फेरि एक पटक आकर्षणको केन्द्र बन्ने निश्चित छ।