अभिनेत्री दीया मास्के र सृष्टिशा श्रेष्ठको मुख्य अभिनय रहेको टिआर गौडेल निर्देशित सर्ट फिल्म ‘हन्ड्रेड रुपिज’ मुम्बई इन्टरनेसनल फिल्म अवार्ड्स (मिफा) मा पुरस्कृत भएको छ। निर्देशक गौडेलको लेखनसमेत रहेको 'हन्ड्रेड रुपिज'ले महोत्सवमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेको हो।
निर्देशक गौडेलले अवार्ड जितेपछि फेसबुकमा खुसी साट्दै लेखेका छन्, 'मेरो सर्ट फिल्मले मुम्बई इन्टरनेसनल फिल्म अवार्डमा फेरि अर्को पुरस्कार जितेको छ। १० वर्षअघि म मुम्बईमा भिडियो सम्पादकको रुपमा काम गरिरहेको थिएँ।'
बलात्कार र त्यसले पार्ने प्रभावलाई विषयवस्तु बनाइएको यो फिल्मको अवधि २० मिनेट छ। फिल्मको छायांकन रविन आचार्यले गरेका हुन्। एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन भएको ‘हन्ड्रेड रुपिज’ ले यसअघि इन्दुस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभल' मा अवार्ड जितेको थियो।