ओ प्रिय लिफः स्वयाः छकः न्हिला ब्यु रे
'प्रिय एकपल्ट फर्केर मलाई हेरी मुस्काइदेऊ न'
गायक स्वयम्भूराज शाक्यले गाउनुभएको नेपालभाषाको यो गीतको आग्रहले कयौंको मिलन गराएको छ। तर यही भावनाले अरुलाई जोडेका गायक स्वयम्भूराजलाई कोरोनाले सदाका लागि हामीबाट टाढा पुर्याइदिएको छ।
कोरोनाको दोश्रो लहरले चिन्ताको घण्टी बजाइसकेको थियो। निषेधाज्ञा हुनु केही दिनअघि वरिष्ठ गायक स्वयम्भूराज शाक्यसँग आफ्नै कार्यकक्षमा भेट भएको थियो। उहाँ वडा १२ का अध्यक्षसँग भेटेर मेरो कार्यालयमा आउनु भएको थियो। एउटा गजबको कार्यक्रम आयोजना गर्ने योजनामा वडाको साथको प्रतिबद्धताले खुशी देखिनुहुन्थ्यो। त्यो योजनालाई मूर्त रुप दिने विषयमा छलफल भयो। मलाई कार्यक्रमको प्रस्तावना तयार गर्न भन्नु भएको थियो। मैले त्यो योजनाको महत्वपूर्ण कुरा बुँदागत टिपोट गरेँ।
उहाँको दिमागमा सँधै नै केही न केही गर्ने योजना चलिरहन्थ्यो र त्यो योजना साँच्चै नै गजबको बन्ने गर्दथ्यो। उहाँकै टोलमा 'ओ प्रिय लिफः स्वयाः स्वयम्भूराज शाक्य एकल साँझ'को आयोजना गर्दा उहाँको आत्मविश्वास, समर्पण, सक्रियताले मलाई अचम्मित बनाएको थियो।
संयोजक, कार्यक्रम डिजाइन तथा संचालकको जिम्मेवारीमा थिएँ। योजनासँग जोडिएका प्रत्येक कृयाकलापमा उहाँको नेतृत्व, क्रियाशीलता रहन्थ्यो। अझ आफ्नै एकल साँझलाई सुमधुर बनाउन अभ्यासको जिम्मेवारी त थियो नै। आफ्नो टोल हःखाका प्रत्येक वासिन्दा तथा हःखा टोल सुधार संघको समेत आयोजनामा अतुलनीय साथ रहेको कारण सबै काममा आफै नखट्न म आग्रह गर्थे। 'स्वयम्भू दाई स्वास्थ्यको ख्याल राख्नुस्, कार्यक्रममा महत्वपूर्ण तपाईको स्वास्थ्य हो।
साथीहरु धेरै छन् सघाउने, धेरै नहिड्नुस्' भन्ने गर्थे। तर उहाँको बानीलाई उहाँको क्षमताले पनि सघाएकै थियो। प्रायोजन, व्यवस्थापनदेखि अभ्याससम्म सबैतिर भ्याउन सक्ने प्रभावकारी व्यक्तित्व हुनुहुन्थ्यो। अझ गायकका रुपमा ५ दशकको प्रभाव त थियो नै।
उहाँको ब्यक्तित्वलाई उज्यालो बनाएको गुणमा अग्रजको मान र नयाँ पुस्तालाई प्रोत्साहनको भावना पनि हो । यही कार्यक्रम आयोजनामै पनि अग्रज प्रिय कलाकारहरु नारायणगोपाल, प्रेमध्वज प्रधानको गीत प्रस्तुत गर्नुका साथै आफ्नो कला जीवनमा रहेको गुणहरु सुनाउनु भएको थियो भने आफ्नै टोलका नयाँ पुस्ताका गायकहरु अनु शाक्य र प्रियंका शाक्यलाई पनि यो मञ्चमा स्थान दिनु भएको थियो ।
करिव ३ घण्टाका यो प्रस्तुति वरिष्ठ गायक शाक्यको आफ्नो श्रोता, दर्शकहरुका लागि निःशुल्क प्रस्तुति थियो, उपहार थियो । बुबा बुद्धिराज शाक्य र आमा नानीबेटी शाक्यको कोखबाट २०१३ मंसीरमा ललितपुरको हःखा टोलमा जन्मिनुभएका वरिष्ठ गायक शाक्यले संगीतमा इलाहावादबाट डिप्लो गर्नुका साथै मानविकीमा प्रमाणपत्र तह अध्ययन गर्नुभयो । रेडियो नेपालको विशिष्ट श्रेणीका गायक शाक्यको जागीर जीवन पनि कला र संस्कृतिसँगै जोडियो । सांस्कृतिक संस्थानमा २५ बर्ष सेव गर्नुभएका शाक्य सहायक गायन प्रवन्धकको पदमा कार्यरत थिए ।
२०२६ सालदेखि अगाडी बढेको यो कलायात्रा विभिन्न मान, सम्मानबाट झिलमिलाएको छ। २०३८ सालमा रेडियो नेपाल आधुनिक संगीत सम्मेलनमा द्वितीय पुरस्कार विजयी शाक्यले २०३८ सालमा नै रत्न रेकर्डिङ स्टुडियोको आयोजना भएको प्रतिभाको खोजी प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्नुभयो। आधुनिक सुगम संगीतमा मात्र होइन २०४२ सालमा रत्न रेकर्डिङ संस्थानले आयोजना गरेको मध्यमाञ्चल क्षेत्रीय लोकगीत प्रतियोगितामा समेत उहाँले प्रथम पुरस्कार जित्नुभयो। आफ्नो मातृभाषा नेपालभाषामा समेत बागमती अञ्चलव्यापी नेपालभाषा गीत प्रतियोगिता, यल अध्ययन मण्डल गोष्ठी नेपालभाषा गीत प्रतियोगितामा द्वितीय पुरस्कार जित्नु भएको थियो।
युगल गायनमा सर्वोत्कृष्ट गायक पेजथ्री पिपुल्स च्वाइस अवार्ड पनि प्राप्त गर्नुभएको थियो। २०४८ सालमा पोखरामा भएको भिडियो चलचित्र महोत्सवमा सर्वोत्कृष्ट गायकको पुरस्कार जित्नुका साथै चलचित्र शंकामार्फत पनि पुरस्कृत हुनुभयो भने पछिल्लो समय सम्राट सापकोटाको कप्स चलचित्रमा संगीत दिएका थिए।
२०६१ सालमा पद्मावती वचत तथा ऋण सहकारी संस्था, नःबहालले वरिष्ठ गायक शाक्यको एकल प्रस्तुतिको कार्यक्रम आयोजना गर्यो। त्यसपछि अर्को आयोजना याकः इन्टरप्राइजेजको रह्यो। ज्येष्ठ नागरिकप्रति समर्पित मुदिता सेवा गृहको सहयोगार्थ निर्माण गरिएको यो कार्यक्रम ‘आरोह सन्ध्या’ पाटन म्यूजियममा भएको थियो। सांस्कृतिक संस्थानमा कार्यरत रहँदा नारायण गोपालले वरिष्ठ गायक शाक्यलाई सांगीतिक जीवन निरन्तरताका लागि दिएको प्रोत्साहन स्मरण गर्दै नारायण गोपालप्रति समर्पित 'नारायण गोपालको सम्झनामा..... ' एकल प्रस्तुति पनि उहाँको जीवनको अविस्मरणीय आयोजना थियो जुन बागमती सफाई अभियानले आयोजना गरेको थियो।
चौथो एकल कार्यक्रम ‘जुजु वेयर्स ओ प्रिय लिफः स्वयाः, स्वयम्भूराज शाक्य एकल साँझ थियो। आरोह सन्ध्या आयोजनामा कार्यक्रम संचालनको जिम्मेवारीबाट बढेको सामीप्यले चौथो एकल सांगीतिक प्रस्तुति आयोजनामा संयोजन, कार्यक्रम निर्माण तथा संचालनको जिम्मेवारी वहन गर्ने अवसर पाएँ। उहाँ निकट रहेर उहाँको व्यक्तित्व अध्ययन गर्ने अवसर पाएँ।
देशभित्रमात्र योे क्रियाशीलता सिमित रहेन। २०४२ सालमा बंगलादेशमा भएको सार्क शिखर सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली सांगीतिक, सांस्कृतिक पहिचान, सृजना प्रस्तुत गर्नुभएको थियो। यो प्रस्तुतिको चर्चा र प्रशंसा उहाँको जीवनको अर्को अविस्मरणीय घटना थियो । यसरी नै तिब्बत, श्रीलंका, साउदी अरेबिया, जापान, हङकङ, बैंङ्कक तथा भारतमा समेत सांगीतिक यात्रा गर्नुभयो।
देश विदेशका श्रोता, दर्शकहरुमा कलाकारिताको अमिट छाप छोड्न सफल स्वयम्भूराज शाक्य गजल गायक गुलाम अलिसँगको भेट, आफ्नो गीत सुनेर गायक अलिबाट प्राप्त प्रशंसा, हौसला र आत्मियता सम्झँदै प्रफुल्लित हुनुभएको त्यो मुहारभाव मेरो स्मरणमा घुमिरहेको छ।
'समाजमा कलाकार एकताको लागि हामीले काम गर्नुपर्छ। कसैलाई केही पर्दा सहयोग गर्न सक्ने शक्ति कलाकार एकतामा हुनुपर्छ। त्यस्तो एउटा संगठनको विकास गर्नुपर्छ। उहाँको सँधैको एउटा चिन्तन स्मरणीय छ।
पाटन दरबार क्षेत्रमा सय जना कलाकार, वाद्यवादकहरुको सहभागितामा वृहत कार्यक्रम आयोजनाको सपना साकार गर्ने दृढताका साथ सुनाउनु हुन्थ्यो।
अर्को एकल प्रस्तुतिको कार्यक्रमको योजना भने लकडाउन खुलेपछि कार्यान्वयन गर्ने निष्कर्ष थियो। तर कार्यक्रम अधुरो छोडेर वरिष्ठ गायक स्वयम्भूराज शाक्य हामीबाट टाढिनु भएको छ।
कोरोना संक्रमण भएको थियो उहाँलाई। अस्पतालमै उपचार गराउनु पर्ने अवस्था आएपछि वैशाख २६ गते भर्ना गरिएको थियो। त्यही बेला फोनमा कुरा हुँदा आफ्नो अवस्था सामान्य रहेको उहाँले सुनाउनु भएको थियो। तर स्थिति असामान्य बन्दै गयो र ने.सं. ११४१ बछलाथ्व चतुदर्शी, २०७८ साल जेष्ठ ११ गतेको दिन हामीबाट हाम्रा प्रिय गायकलाई चुडेर लग्यो। स्वयम्भूराज दाई, तपाईँका समाज, संगीत र कलाकारिता क्षेत्रमा समर्पित धेरै इच्छाहरु अधुरै रहे। तर यति छोटो जीवनमा यति धेरै योगदान गर्ने सीमित व्यक्तिमाझ तपाईँको स्मरण सधैं भइरहनेछ।
भौतिक रुपमा विलाए पनि तपाईंका स्वर-संगीत मनमनमा गुञ्जिरहनेछ।