काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म 'पाँच पाण्डव' को छायांकन औपचारिक रूपमा सुरू भएको छ।
सोमबार झापाको नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टाबाट फिल्मको छायांकन थालिएको हो।
क्यामेरा पूरा गर्दै छायांकन सुरू गरिएको पहिलो दिनमा फिल्मका मुख्य कलाकारहरू उपस्थित छन्। फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) ले मुख्य भूमिकामा अभिनय गर्दैछन्।
निर्माणपक्षले दिएको जानकारी अनुसार ‘पाँच पाण्डव’ को महिला पात्रमा दीपाश्री निरौला र जनी गुरूङ रहनेछन्। फिल्मको निर्देशक वसन्त निरौला हुन्।
शीर्षक 'पाँच पाण्डव' राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित फिल्म होइन। निर्माण पक्षका अनुसार यो पूर्ण रूपमा सामाजिक कथा (सोसल ड्रामा) हो। फिल्ममा महाभारतका पाँच पाण्डवको बिम्ब प्रयोग गर्दै समकालीन समाजको कथा प्रस्तुत गरिने जनाइएको छ। सुशील पौडेलले यसको कथा, पटकथा तथा संवाद लेखेका हुन्।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता काली रानी श्रेष्ठ हुन्। हरिवंश आचार्यलगायत रूचाइएका कलाकार रहेकाले फिल्मको बजेट उच्च रहने र निर्माणमा बजेटका कारण कुनै कम्प्रमाइज हुन नदिने प्रस्तुतकर्ता श्रेष्ठले बताए।
श्रेष्ठ भन्छन्, ‘'कलाकारहरूको लाइनअपले नै फिल्मको क्यानभास ठूलो छ भन्ने प्रष्ट पार्छ। हामी प्रविधि र मेकिङमा निकै सचेत छौं।'
फिल्मलाई श्याम तामाङले खिच्नेछन्। करिब ४० दिनको छायाकंन तालिका तय गरिएको अधिकांश दृश्य झापामै खिचिने निर्माण टिमले जानकारी दिएको छ। त्यहाँको छायांकन सकेपछि टोलीले अन्य स्थानको सेड्युल तय गर्ने निर्देशक निरौलाले जानकारी दिए।

