भुवन केसी निर्देशित फिल्म 'बाटुलो जून'ले सुपरहिटको ट्याग पाएको छ। देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले बुधबार दिउँसो आफ्नो आधिकारिक वेबसाइटमार्फत फिल्मलाई ‘सुपरहिट’ घोषणा गरेको हो।
कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले क्यूएफएक्सका हलबाट मात्रै २ करोड ५० लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेपछि यो मान्यता पाएको हो।
क्यूएफएक्सले प्रदर्शनको पहिलो दुई सातामा आफ्ना हलबाट २ करोड ५० लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गर्ने फिल्मलाई 'सुपरहिट'को ट्याग दिने गरेको छ। यस आधारमा 'बाटुलो जून'ले प्रदर्शनको पहिलो साता पूरा नहुँदै सुपरहिटको मापदण्ड पार गरेको हो।
फिल्मको आधिकारिक बक्स अफिस कमाइ भने सोमबार सार्वजनिक हुनेछ।
यसअघि रामबाबु गुरूङ निर्देशित फिल्म 'कबड्डी ५: आफ्टर द फाइनल म्याच'ले प्रदर्शनको तेस्रो दिनमै क्यूएफएक्सबाट सुपरहिटको ट्याग पाएको थियो। त्यस्तै, यसै वर्ष प्रदर्शनमा आएका 'गौंथली' र 'पेन्सन पट्टा'ले दोस्रो सातामा मात्रै यो मान्यता पाएका थिए।
प्रदर्शनको सुरूआतदेखि नै उत्साहजनक व्यापार गरिरहेको 'बाटुलो जून'मा अनमोल केसी र प्रिन्सी खतिवडा मुख्य भूमिकामा छन्। यही फिल्मबाट प्रिन्सीले अभिनेत्रीका रूपमा डेब्यू गरेकी हुन्।
फिल्ममा भुवन केसी, गरिमा पन्त, न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना र लक्ष्मी गिरीलगायत कलाकारको पनि अभिनय छ।
विसं २०४० को दशकको नेपाली सामाजिक तथा सांस्कृतिक परिवेशमा आधारित फिल्मले तत्कालीन समयको प्रेम, सामाजिक अवस्था र जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा जिया केसी र भविष्य खड्का निर्माता छन्। सह-निर्माता विवेक थापा हुन्।