फिल्म 'तेल भिसा' का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। उनलाई वैदेशिक रोजगार सम्बन्धि कसूर मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए। पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका-७ घर भएका कार्कीविरूद्ध पासाङ नोर्बु तामाङ समेतका व्यक्तिले जाहेरी दिएका थिए। कार्कीविरूद्ध वैदेशिक रोजगार ठगीमा ६ वटा पक्राउ पुर्जी जारी भएको जनाइएको छ।
उनले चाबहिलमा विगत १० वर्षदेखि ‘पी एण्ड एम इनोभेशन सर्भिस’ नामको कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले २५० जनालाई ठगी गरेको र १०० जना भन्दा बढी पीडित प्रहरीको सम्पर्कमा आएको बताइएको छ।
गत असार २४ गते प्रहरी वृत्त लैनचौरबाट बैंकिङ कसुरमा मुद्धा समेत दर्ता भएको थियो।
कार्की विगत ३ महिनादेखि भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जमा अन्नपूर्ण फास्टफुड सञ्चालन गरेर बस्दै आएका थिए। उनीबाट भारतीय आधार कार्ड र प्यान कार्ड समेत बरामद भएको प्रहरीले जनाएको छ।