फिल्म 'पार्वती'को मंगलबार सार्वजनिक हुने भनिएको टिजर रिलिज स्थगित भएको छ।
नीता फिल्मस् प्रोडक्सन प्रा.लि.ले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।
फिल्मका बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित केही व्यक्तिगत कारणवश उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय लिन बाध्य भएको जनाइएको छ।
सूचनामा भनिएको छ, 'हाल हाम्रो फिल्मका बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित केही व्यक्तिगत कारणवश उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै यस संवेदनशील समयमा फिल्मको प्रचार-प्रसारसम्बन्धी कुनै पनि सामग्री सार्वजनिक नगर्ने निर्णय गर्न हामी बाध्य भएका छौं।'
टिजर सार्वजनिक गर्ने नयाँ मिति भने छिट्टै नै घोषणा गरिने नीता फिल्म्सले जनाएको छ।
यसअघि सोमबार साँझ अशोक दर्जीले टिकटकमार्फत भिडिओ सार्वजनिक गर्दै यही अवस्थाका कारण टिजर रिलिज स्थगित गरिएको बताएका थिए। उनले टिजर रिलिजका लागि झापाबाट काठमाडौं आएको उल्लेख गर्दै अहिलेको परिस्थितिमा टिजर सार्वजनिक गर्दा त्यसलाई लिएर विभिन्न टिप्पणी हुन सक्ने चिन्ता रहेको बताएका थिए।
उनले भनेका छन्, 'खासमा म टिजर रिलिज भनेर नै काठमाडौं आएको थिएँ। तर यहाँ यस्तो अवस्थामा हामीलाई टिजर रिलिज गर्न धेरै नै गाह्रो भयो। भोलिको दिनमा हामीले टिजर रिलिज गर्यौं भने पनि 'यस्तो टाइममा भ्यु धेरै आउँछ भनेर टिजर रिलिज गरे' भनेर कति जनाले कमेन्ट गर्नुहुन्छ भन्ने लाग्यो। किनकि सबै मान्छे एउटै हुँदैनन्। भोलि रिलिज हुने 'पार्वती'को टिजर केही समयका लागि सारेका छौं।'
अशोकमाथि कुटपिट भएको दाबी गरिएको भिडिओ आइतबार बेलुकादेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनले आफूमाथि कुटपिट भएको भन्दै गत महिना नै प्रहरीमा उजुरी दिइसकेका छन्।
नीता ढुंगाना निर्देशित 'पार्वती' भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारी छ।
अशोक दर्जीको भाइरल भिडिओको वास्तविकता के हो?
