फ्राइडे रिलिजअन्तर्गत आजदेखि नेपाली र विदेशी गरी चार नयाँ फिल्म प्रदर्शनमा आएका छन्। शुक्रबारदेखि दुई नेपाली फिल्मसँगै दुई विदेशी फिल्म पनि नेपाली हलमा रिलिज भएका हुन्।
नेपालीतर्फ 'चमेलीको पोइ' र 'चंगुल' प्रदर्शनमा आएका छन। त्यस्तै, विदेशी फिल्मतर्फ बलिउडको 'दृश्यमः द कन्क्लुजन' र हलिउडको 'रेसिडेन्ट इभिल' रिलिज भएका हुन्।
'चमेलीको पोइ' सामाजिक कथावस्तुमा आधारित हास्यप्रधान फिल्म हो। एभरेस्ट सूर्य बोहराको निर्देशन रहेको फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सनविक्रम राईलगायतको अभिनय छ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको फिल्ममा शेरे र चमेलीको सम्बन्धलाई केन्द्रमा राखिएको छ। साथी, प्रेमी-प्रेमिका, श्रीमान्-श्रीमतीदेखि एकअर्काका प्रतिद्वन्द्वीसमेत बन्ने उनीहरूको सम्बन्धमा चमेलीका स्वार्थी ज्वाइँको प्रवेशपछि कथा थप जटिल बन्छ। प्रेम, प्रतिस्पर्धा, छलकपट र हास्यलाई मिश्रण गरिएको फिल्मको रनटाइम २ घण्टा ३४ मिनेट छ। यसले युनिभर्सल सर्टिफिकेट पाएको छ।
यस्तै, 'चंगुल' सामाजिक तथा राजनीतिक विषयमा आधारित फिल्म हो। राम गौतमको निर्देशन रहेको फिल्मले भ्रष्टाचार, अन्याय र शक्तिको दुरूपयोगका कारण कमजोर बन्दै गएको समाजको कथा प्रस्तुत गर्छ।
जेन-जी आन्दोलन र त्यसअघि विकसित परिस्थितिको पृष्ठभूमिमा निर्माण भएको फिल्मले युवापुस्ताको जागरण, प्रतिरोध, एकता, बलिदान, न्याय र आशालाई कथाको केन्द्रमा राखेको छ। फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मी नाथ तिमिल्सिना, राम गौतमलगायत कलाकारको अभिनय छ। फिल्मको रनटाइम २ घण्टा ७ मिनेट छ। यसले पनि युनिभर्सल सर्टिफिकेट पाएको छ।
विदेशी फिल्मतर्फ 'दृश्यमः द कन्क्लुजन' अभिषेक पाठकको निर्देशनमा बनेको हो। यसमा अजय देवगन, तब्बु, जयदीप अहलावत र श्रिया शरनलगायतको अभिनय छ। क्राइम-थ्रिलर जनराको फिल्मको रनटाइम २ घण्टा ३० मिनेट छ। यसले नेपालमा राम्रो शोसहित प्रदर्शन आरम्भ गरेको हो।
यस्तै, 'रेसिडेन्ट इभिल' पनि आजदेखि प्रदर्शनमा आएको अर्को विदेशी फिल्म हो। ज्याक क्रेगर निर्देशित यो हरर र एक्सनप्रधान फिल्म हो। फिल्ममा अस्टिन अब्राम्स, ज्याक चेरी, काली रिस, पल वाल्टर हाउजरलगायत कलाकारको अभिनय छ।
दुर्गम अस्पतालमा एउटा सामान पुर्याउने जिम्मेवारी पाएको एक कुरियर प्राणीहरूमा फैलिएको भयावह संक्रमणको बीचमा फस्छ। त्यसपछि आफूलाई बचाउन उत्परिवर्तित जीवहरूको भीडसँग संघर्ष गर्नुपर्ने अवस्थालाई फिल्मले प्रस्तुत गरेको छ। फिल्मको रनटाइम १ घण्टा ३४ मिनेट छ।
यसअघि रिलिज केही नेपाली तथा विदेशी फिल्म समेत हलमा प्रदर्शनरत छन्।