नेपाल र दक्षिण कोरियाका फिल्मकर्मीको सहकार्यमा अन्तर्राष्ट्रिय फिचर फिल्म 'ग्रान्ड एभरेस्ट आश्रम' निर्माण हुने भएको छ।
बोकल्ट फिल्म्स र काठमाडौं फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको फिल्ममा दक्षिण कोरियाली निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङ र काठमाडौं फिल्म्सका संस्थापक एवं नेपाली सहनिर्माता चन्दन झा जोडिएका छन्।
रोमान्टिक कमेडी तथा सुपरनेचुरल विधामा निर्माण हुने फिल्ममा के-ड्रामाको स्वादसमेत रहने निर्माण पक्षले जनाएको छ। पूर्वकोरियाली के-पप स्टार र युवा नेपाली गुरू तथा होटल सञ्चालकबीच विकसित हुने अनपेक्षित प्रेम सम्बन्ध फिल्मको मुख्य कथावस्तु हुनेछ।
प्रेम, हास्य र रहस्यको संयोजन रहने फिल्मले आधुनिक सेलिब्रेटी संस्कृति र नेपालको आध्यात्मिक परिवेशबीचको सम्बन्धलाई रोचक ढंगले प्रस्तुत गर्नेछ। साथै, प्रेम, पहिचान र बाहिरी देखावट तथा वास्तविकताबीचको भिन्नतालाई पनि कथामा समेटिनेछ।
फिल्ममा नेपाली अभिनेता अरूण क्षेत्री पुरूष मुख्य भूमिकामा देखिनेछन्। अन्तर्राष्ट्रिय प्रेमकथाको केन्द्रमा नेपाली पात्र रहने यस फिल्ममा महिला मुख्य भूमिकाका लागि दक्षिण कोरियाली अभिनेत्री रहनेछिन्। उनको नाम भने पछि सार्वजनिक गरिने निर्देशक ह्वाङले बताएकी छन्।
फिल्मको निर्माण तथा सिर्जनात्मक टोलीमा निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङ, सह–निर्माता चन्दन झा, छायांकन निर्देशक नरेन्द्र मैनाली, लाइन प्रोड्युसर प्रकाश हमाल तथा क्रिएटिभ डाइरेक्टर, कास्टिङ डाइरेक्टर, भाषा तथा अभिनय प्रशिक्षक एवं क्यारेक्टर डाइरेक्टर उत्पल झा रहेका छन्।
निर्माण पक्षका अनुसार 'ग्रान्ड एभरेस्ट आश्रम'ले हिमाल र पदयात्राका परिचित दृश्यभन्दा फरक ढंगले नेपालको अर्को पक्षलाई पर्दामा उतार्नेछ। एउटा अनौठो तथा अलौकिक प्रेमकथामार्फत आध्यात्मिक र सामान्य जीवनबीचको द्वन्द्व तथा अन्तरक्रियालाई फिल्ममा प्रस्तुत गरिनेछ।
फिल्मकी लेखक तथा निर्देशक बोइम ह्वाङले नेपालप्रतिको आफ्नो आत्मीयता नै यस फिल्म निर्माणको प्रेरणा रहेको बताएकी छन्। उनले भनेकी छन्, 'विगतका वर्षहरूमा पटक-पटक नेपाल भ्रमण गर्ने क्रममा यस देश र यहाँका मानिसहरूप्रति मेरो गहिरो आत्मीयता बढेको छ। नेपालमा रहेको आकर्षण, अनौठोपन र आध्यात्मिक वातावरणलाई आफ्नै सिनेम्याटिक दृष्टिकोणमार्फत पर्दामा उतार्न चाहेकी हुँ।'
यस सहकार्यले नेपाल र दक्षिण कोरियाबीचको सांस्कृतिक तथा सिर्जनात्मक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। दुवै देशका कलाकार, फिल्मकर्मी तथा निर्माण क्षेत्रको अनुभवलाई एकसाथ जोडेर अन्तर्राष्ट्रिय स्तरको फिल्म निर्माण गर्ने लक्ष्य निर्माण पक्षको छ।
सह-निर्माता चन्दन झाका अनुसार फिल्मलाई विश्वव्यापी थिएटर प्रदर्शन र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई लक्षित गरी निर्माण गरिनेछ। नेपाल, दक्षिण कोरिया, उत्तर अमेरिका र युरोपका दर्शकलाई लक्षित गरिएको फिल्मलाई पछि स्ट्रिमिङ प्लेटफर्ममार्फत समेत सार्वजनिक गर्ने योजना छ।
फिल्मको छायांकन सन् २०२७ फेब्रुअरीदेखि नेपालमा सुरू गरी मार्चसम्म जारी राख्ने प्रारम्भिक योजना छ। नेपाली पात्रोअनुसार यो अवधि २०८३ सालको माघदेखि चैतसम्म पर्छ।
फिल्मकी दक्षिण कोरियाली महिला मुख्य कलाकार, सहायक कलाकार तथा निर्माण टोलीका अन्य सदस्यको विवरण पनि छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।