अभिनेता दयाहाङ राईले फिल्म चलाउन कलाकारको स्टारडमभन्दा कथा बलियो हुनुपर्ने बताएका छन्। उनका अनुसार कलाकारलाई स्टार बनाउने आधारसमेत कथा नै हो।
फिल्म 'पेन्सन पट्टा' चौथो हप्तामा प्रवेश गरेको अवसरमा आयोजित 'मीट एन्ड ग्रीट' तथा पत्रकार भेटघाट कार्यक्रममा दयाहाङले यस्तो धारणा राखेका हुन्।
शुक्रबार काठमाडौंको मण्डला थिएटरमा आयोजित कार्यक्रममा दयाहाङले भने, 'कथाले नै कलाकारलाई स्टार बनाउने भएकाले अन्ततः कथा नै बलियो हुन्छ। कथा बलियो भएपछि फिल्म चल्छ। स्टारडमले फिल्मलाई केही हदसम्म सपोर्ट गर्ने मात्र हो।'
दयाहाङको यो भनाइ 'पेन्सन पट्टा'को सफलतासँग पनि जोडिएको छ। कलाकारको लोकप्रियतासँगै फिल्मको कथा र प्रस्तुतिले दर्शकलाई हलसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो।
कार्यक्रममा निर्देशक तथा निर्माता माओत्से गुरूङले 'पेन्सन पट्टा'को सफलताले आफूहरूको मेहनतलाई प्रमाणित गरेको बताए। दुःख र मेहनत गरेर निर्माण गरिएको फिल्मलाई दर्शकले माया र साथ दिँदा आफूहरू उत्साहित भएको उनको भनाइ थियो।
मेहनत गरेर बनाएको फिल्म चल्छ र दर्शकले हेर्छन् भन्ने कुरा ‘पेन्सन पट्टा’ले प्रमाणित गरेको उनले बताए। चौथो हप्तासम्म पनि दर्शकको साथ पाइरहनु निर्माण टिमका लागि ठूलो उपलब्धि भएको माओत्सेको भनाइ थियो।
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको 'पेन्सन पट्टा' शुक्रबारदेखि चौथो हप्तामा प्रवेश गरेको हो। यही अवसरमा फिल्मको सम्पूर्ण टिम शुक्रबार काठमाडौंमा भेला भएर पत्रकारसँग प्रत्यक्ष भेटघाटसमेत गरेको हो।
कार्यक्रममा फिल्मका कलाकार तथा निर्माण टिमले फिल्मको सफलता, दर्शकको प्रतिक्रिया र निर्माण अनुभवबारे सञ्चारकर्मीसँग कुराकानी गरेका थिए।
निर्माण पक्षका अनुसार 'पेन्सन पट्टा'ले हालसम्म ८ करोड ५० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ।