गायिका एलिना चौहानले आफ्नो फेसन स्टोर 'रमणी बाई एलिना' नयाँ ठाउँमा सारेर पुनः सञ्चालनमा ल्याउने भएकी छन्।
दुई महिनामै पुरानो ठाउँबाट पसलका सबै सामान उठाएर नयाँ ठाउँमा सार्नुपरेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव र भावनाहरू साझा गरेकी छन्।
पसल सार्ने क्रममा छरपस्ट भएका सामान हेर्दा आफूले त्यहाँ सामानसँगै आफ्नो सपना, मेहनत, आँसु, खुसी र आशाहरू पनि छरपस्ट भएको महसुस गरेको एलिनाले बताएकी छन्।
'सामान समेट्दै गर्दा कहिलेकाहीँ लाग्छ, सामानभन्दा पहिले त मेरो मन नै समेट्नुपर्ने रहेछ,' उनले लेखेकी छन्।
यद्यपि, आफूले हार भने नमानेको उनले बताएकी छन्। नयाँ ठाउँबाट फेरि व्यवसाय सुरू गर्न लागेको उल्लेख गर्दै उनले यसलाई आफ्नो जीवनको अर्को सुरुवातका रूपमा लिएकी छन्।
'सायद भगवानले एउटा ढोका बन्द गरेर अर्को बाटो देखाउनुभएको हो। रमणीको ठेगाना फेरिएको हो, मेरो हिम्मत होइन,' उनले लेखेकी छन्।
एलिनाका अनुसार 'रमणी बाई एलिना' यही असोज २२ गतेदेखि नयाँ ठाउँबाट सञ्चालनमा आउनेछ। उनले नयाँ ठाउँमा हुने सुरूआतलाई आफ्नो लागि केवल पसलको उद्घाटन नभई छरपस्ट भएको मन फेरि उठाएर उभ्याउने दिनका रूपमा व्याख्या गरेकी छन्।
नयाँ सुरूआतमा आफ्ना शुभेच्छुकको साथ र उपस्थितिको अपेक्षा गर्दै उनले उनीहरूलाई पसलमा आउन आग्रह गरेकी छन्।
'किन्ने सामानका लागि मात्र होइन, मलाई फेरि उठेको हेर्न आउनुस्,' उनले लेखेकी छन्, 'तपाईंहरूको एउटा उपस्थिति, एउटा माया, एउटा शुभकामनाले पनि सायद आज टुटेको मेरो मनलाई फेरि जोड्नेछ।'
उनले आफू फेरि सुरू गर्न लागेको र यस पटक अझ बलियो भएर अघि बढ्ने बताएकी छन्। नयाँ ठाउँमा हुने सुरूआतमा भेट्न आफ्ना ग्राहक तथा शुभेच्छुकलाई उनले आग्रह गरेकी छन्।
एलिनाले रमणी बसिरहेको घर घरधनीले बेचेको र खाली गर्न भनिएको बताएकी छन्।