कमेडियन हिमेश पन्त र सुनिल खड्काको नयाँ कमेडी टक शो 'हल्ला खल्ला विथ हिमेश' आउने भएको छ।
शुक्रबार काठमाडौंको मल्लसदन स्थित मण्डला हाइट रेस्टुरेन्टमा विशेष कार्यक्रम गरी कमेडी टक शो को प्रोमो सार्वजनिक गरिएको छ।
हिमेश कमेडी च्याम्पियनको पहिलो सिजन र सुनिल तेस्रो सिजनका च्याम्पियन हुन्।
उनीहरू लामो समयपछि नियमित कमेडी शो मा फर्किएका हुन्।
'हल्ला खल्ला विथ हिमेश'मा कमेडी च्याम्पियन सिजन-३ का प्रतिस्पर्धीहरू; प्रेम विश्वकर्मा, अमरेन्द्र यादव लगायतका कलाकारहरूको प्रस्तुती हुने निर्माण टोलीले जनाएको छ।
प्रेम कमेडी च्याम्पियनमा पूर्व राजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेर चर्चामा आएका थिए।
अमरेन्द्रले पछिल्लो समय एमाले नेता सूर्य थापामाथि गरेको रोस्ट चर्चामा छ।
कमेडी टक शोमा विपिन भट्टराई, सन्देश देवकोटा र सरोज भण्डारी स्क्रिप्ट राइटरका रूपमा रहनेछन्।
कमेडी टक शो हास्यव्यंग्य अन्तर्वार्ताको फर्म्याटमा रहनेछ।
यस कार्यक्रम एक घण्टा लामो र साताको एक पटक प्रसारण हुने क्यापेला डिजिटलका संन्चालक प्रताप सम्शेरले जानकारी दिए।
जसमा विविध क्षेत्रका अतिथिहरू जस्तै चलचित्र, संगीत, खेलकुद, व्यापार तथा राजनीतिका चर्चित व्यक्तिहरूलाई अतिथिको रूपमा निमन्त्रणा गरिने निर्माण पक्षले जनाएको छ।
पहिलो सिजनमा २६ वटा भागहरू प्रसारण हुनेछन्।