रोमान्टिक जनरामा बनेको फिल्म 'सैयारा' शुक्रबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको छ। यशराज फिल्मस्को ब्यानरमा निर्मित, मोहित सुरी निर्देशित यो फिल्ममा दुई नयाँ कलाकारहरू अहान पाण्डे र अनीत पड्डाले अभिनय गरेका छन्।
नव कलाकारहरू भए पनि, यो फिल्मलाई लिएर यतिबेला ठूलो चर्चा भइरहेको छ। फिल्मले अग्रिम बुकिङमा स्टार कलाकारहरूको फिल्मलाई समेत पछि पारेको जनाइएको छ।
भारतीय संचारमाध्यमका अनुसार पहिलो दिनका लागि भारतमा फिल्मको अन्तिम अग्रिम बुकिङ ९ करोड ३९ लाख भारू थियो, जसमध्ये ३ करोड ८० लाखको टिकट प्रि-सेल्समा मात्र बिक्री भएका थिए।
यो महंगो बजेटको फिल्म होइन्। यसको बजेट लगभग ४५ करोड भारू बताइएको छ।
पहिलो दिनको कमाइको कुरा गर्दा 'धडक' को ८ करोड ७६ लाख र 'स्टुडेन्ट अफ द इयर' को ७ करोड ४८ लाख भारू थियो, यी फिल्ममा पनि त्यसबेला नयाँ कलाकारहरू थिए।
'सैयारा' को ९ करोड ३९ लाख भारूको अग्रिम बुकिङ आँकडाले यस वर्ष रिलिज भएका धेरैजसो बलिउड फिल्महरूलाई उछिनेको छ।
यो फिल्मलाई समीक्षकहरूले समेत प्रशंसा गरेका छन्। भारतीय समीक्षक तथा व्यापार विश्लेषक तरण आदर्शले फिल्मलाई 'उत्कृष्ट' भनेका छन्।
'सैयारा' नेपालका फिल्म हलहरूमा पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ।