अहान पाण्डे र अनीत पड्डा अभिनीत भारतीय फिल्म 'सैयारा' ले बक्स अफिसमा बलियो ओपनिङ गरेको छ। यसले नयाँ कलाकार अभिनीत सबभन्दा धेरै ओपनिङ गर्ने फिल्मको रेकर्ड कायम गरेको छ।
अग्रिम टिकट बुकिङ नै आक्रामक देखिएको फिल्मले पहिलो दिन भारतमा २० करोड भारू कमाइ गर्ने अनुमान गरिएको थियो। फिल्मले यो आँकडा पार गर्दै २१ करोड २५ लाख भारू कमाएको छ।
स्टारका फिल्मलाई पनि पछि पार्दै यो फिल्म २०२५ कै चौथो ठूलो ओपनिङ गर्ने फिल्म समेत बनेको छ।
दोस्रो दिन शनिबार फिल्मले २४ करोड ५० लाख भारू हाराहारी कमाएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। दुई दिनमै फिल्मको कमाइ ४५ करोड ७५ लाख पुगेको जनाइएको छ। पहिलो तीन दिनमै फिल्मले ५० करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ।
'सैयारा' को बजेट ४५ करोड भारू रहेको जनाइएको छ। व्यापार यही रफ्तारमा गए केही दिनमै फिल्मले आफ्नो बजेट सुरक्षित गर्ने देखिन्छ। आम दर्शक तथा समीक्षकबाट पनि फिल्मलाई राम्रो प्रतिक्रिया मिलिरहेको छ।
यशराज फिल्म्सको ब्यानरमा बनेको म्युजिकल रोमान्टिक फिल्म 'सैयारा' मा मोहित सुरीको निर्देशन छ। प्रेमकथानक फिल्मबाटै चर्चामा आएका उनले यसअघि 'आशिकी २', 'एक भिलेन', 'एक भिलेन रिटन्र्स' जस्ता फिल्महरू दिइसकेका छन्।