बलिउड फिल्म 'सैयारा' ले यतिबेला चौतर्फी प्रशंसा पाइरहेको छ।
ठूला स्टार कलाकारहरू नभएको, बिदा नपरेको र भव्य प्रचार शैली नअपनाइ प्रदर्शनमा आएर पनि यो फिल्मले शानदार व्यापार गर्दै धेरैलाई चकित तुल्याएको छ।
मोहित सुरी निर्देशित यशराज फिल्मस् ब्यानरको यो रोमान्टिक फिल्मबाट दुई कलाकारहरू अहान पाण्डे र अनित पड्डा एकाएक चम्किएका छन्। २७ वर्षीय अहान र २२ वर्षीया अनित दुवै फिल्मका लागि नयाँ अनुहारहरू हुन्।
अहानको 'सैयारा' डेब्यु फिल्म हो। उनी अभिनेता चंकी पाण्डे (अनन्या पाण्डेको बुवा)का भाइका छोरा (भतिज) हुन्।
अहानले यसअघि फ्रिकी अली (२०१६), द रेलवे मेन (२०२३) लगायतका केही फिल्ममा सहायक निर्देशक भएर काम गरेका थिए। सोसल मिडियामा समेत राम्रो फ्यान फ्लोइङ भएका अहान यतिबेला 'सैयारा' बाट निकै चर्चामा छन्।
यता अभिनेत्री अनितले भने यसअघि नै डेब्यु गरेकी थिइन्। उनी पहिलो पटक 'सलाम वेंकी' मा पर्दामा देखा परेकी थिइन्। यस फिल्ममा उनले काजोलसँग काम गरिन्। यसमा भूमिका सानो भए पनि उनको लागि बलिउडको ढोका खुल्यो।
२०२४ मा वेब सिरिज 'बिग गल्र्स डन्ट क्राइ' बाट अनितले अझ बढी पहिचान बनाइन्। उनको कामको दर्शक र समीक्षक दुवैले प्रशंसा गरे। अभिनय बाहेक अनितलाई संगीतमा समेत रूची छ। उनले उक्त वेब सिरिजमा एउटा गीतमा स्वर समेत दिइन्। अनितले टिभी सिरिज 'युवा सपनोका सफर' मा समेत अभिनय गरिन्।
'सैयारा' भने उनको करिअरमा ठूलो मोड साबित भयो। यो फिल्मका लागि उनले जब अडिसन दिइन्। टिमले तुरून्तै उनलाई अहान पाण्डेको अपोजिटमा मुख्य भूमिकाको लागि साइन गर्यो। यतिबेला दुवै कलाकारहरूलाई आशाजनक र बहुमुखी कलाकारको रूपमा हेरिएको छ।
'आशिकी २' र 'एक खलनायक' जस्ता भावनात्मक प्रेमकथाका लागि परिचित निर्देशक मोहित सुरीको 'सैयारा' ले भारतमा ८० करोडमाथिको व्यापार गरिसकेको छ। नेपालमा पनि फिल्मले दर्शकबाट राम्रो साथ पाइरहेको छ।