अहिले चर्चामा रहेको भारतीय फिल्म 'सैयारा' सय करोड क्लबमा प्रवेश गरेको छ। यो फिल्मले रिलिजको पहिलो चार दिनमै भारतमा १ सय ८ करोड ७५ लाख भारू कमाइ गरेको हो।
म्युजिकल लभस्टोरी यो फिल्मले शुक्रबार २२ करोड भारू कमाएको थियो। शनिबार २६ करोड २५ लाख कमाएको फिल्मले आइतबार एकैदिन ३६ करोड २५ लाख कमायो।
सोमबारको कमाइ पहिलो दिनको भन्दा बढी रह्यो। यसदिन २४ करोड २५ लाख कमाइ गरेसँगै फिल्म सय करोड क्लबमा समावेश भएको हो।
'सैयारा' यशराज फिल्मस्को ब्यानरमा बनेको मोहित सुरी निर्देशित फिल्म हो। यो फिल्ममा अहान पाण्डे र अनित पड्डाले मुख्य भूमिकामा अभिनय गरेका छन्। नव कलाकारहरू भएर पनि 'सैयारा' ले आक्रामक व्यापार गरेको छ। फिल्मबाट कलाकारहरूले पनि निकै राम्रो चर्चा र प्रशंसा पाइरहेका छन्।
'सैयारा' सन् २०२५ को सफल फिल्म मात्रै बनेको छैन, यसले केही रेकर्डहरू समेत बनाएको छ। यो नयाँ कलाकार अभिनीत फिल्मका लागि सबभन्दा धेरै ओपनिङ गर्ने, सप्तान्हमा धेरै कमाउने र सोमबार सबभन्दा ठूलो कमाइ गर्ने फिल्म समेत बनेको छ।
'सैयारा' को लगानी ४५ करोड भारू रहेको बताइएको छ।