बलिउड जोडी अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीले आफ्नी छोरीको नाम र तस्बिर सार्वजनिक गरेका छन्।
केही महिनाअघि आमा-बुबा बनेको यो जोडीले छोरीको नाम 'सरायाह मल्होत्रा' राखेको छ।
कियाराले इन्स्टाग्राममा छोरीको सानो पैतालाको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएकी हुन्। उनले लेखेकी छिन्, 'हाम्रो प्रार्थनादेखि हाम्रो काखसम्म, हाम्रो ईश्वरीय आशीर्वाद, हाम्रो राजकुमारी सरायाह मल्होत्रा।'
यो पोस्टमा वरूण धवन, मनिष मल्होत्रा लगायत धेरै सेलिब्रेटी र प्रशंसकले बधाई दिएका छन्।
'सरायाह' नाम हिब्रु नाम ‘सराई’ बाट लिइएको हो, जसको अर्थ ‘राजकुमारी’ हुन्छ। कियारा र सिद्धार्थले परम्परागत नामको हिज्जेमा थोरै परिवर्तन गरेर यसलाई विशेष बनाएका छन्।
यो जोडीलाई गत जुलाईमा पुत्रीलाभ भएको थियो। जन्मपछि उनीहरूले गोपनीयताको सम्मान गरिदिन सबैलाई आग्रह गरेका थिए।
सन् २०२१ को फिल्म 'शेरशाह' बाट प्रेम सम्बन्धमा रहेका कियारा र सिद्धार्थले सन् २०२३ मा विवाह गरेका थिए।