'सैयारा' स्टार अहान पाण्डे र अनित पड्डा वर्षकै सर्वाधिक लोकप्रिय भारतीय स्टार बनेका छन्।
लोकप्रिय फिल्म डाटाबेस वेबसाइट आइएमडीबीले बुधबार सार्वजनिक गरेको 'सन् २०२५ का सर्वाधिक लोकप्रिय भारतीय स्टार' को सूचीमा नव-कलाकार अहान र अनित क्रमशः शीर्ष पहिलो र दोस्रो स्थानमा पर्न सफल भएका हुन्।
आफ्नो पहिलो फिल्मको ऐतिहासिक सफलतासँगै उनीहरूले आमिर खान र ऋषभ शेट्टीजस्ता दिग्गज कलाकारहरूलाई समेत पछि पारेका हुन्। आइएमडीबीका अनुसार विश्वभरका २५ करोडभन्दा बढी मासिक प्रयोगकर्ताको 'पेज भ्युज' का आधारमा यो सूची तयार पारिएको हो।
पहिलो फिल्मबाटै शीर्ष स्थानमा पर्न सफल भएकोमा अहान र अनितले निर्देशक मोहित सुरीप्रति आभार व्यक्त गरेका छन्। अहानले यसलाई सपना पूरा भएको क्षण बताउँदै दोस्रो फिल्ममार्फत छिट्टै दर्शकमाझ फर्किने बताए। यस्तै, अनितले 'सैयारा' ले आफ्नो जीवन नै बदलेको बताउँदै दर्शकको मायाप्रति कृतज्ञता व्यक्त गरेकी छिन्। गत जुलाई १८ मा प्रदर्शनमा आएको 'सैयारा' ले भारतमा मात्रै ५७० करोड भारू भन्दा बढी कमाइ गरेको थियो।
यस्तो छ शीर्ष १० को सूचीः–
सूचीको तेस्रो स्थानमा आमिर खान रहेका छन् भने ईशान खट्टर चौथो र लक्ष्य पाँचौं स्थानमा छन्। त्यसैगरी, रश्मिका मन्दना छैटौं, कल्याणी प्रियदर्शन सातौं, तृप्ति डिमरी आठौं, रूक्मिणी वसन्त नवौं र ऋषभ शेट्टी दसौं स्थानमा समेटिएका छन्।