बलिउड अभिनेता अजय देवगन स्टारर फिल्म शृंखला 'दृश्यम' को तेस्रो भाग 'दृश्यम ३' को प्रदर्शन मिति घोषणा भएको छ।
निर्माताले सोमबार प्रोमो सार्वजनिक गर्दै प्रदर्शन मितिबारे आधिकारिक घोषणा गरेका हुन्। घोषणाअनुसार फिल्म अक्टोबर २, २०२६ (असोज १६) मा प्रदर्शनमा आउनेछ। उक्त दिन भारतमा गान्धी जयन्ती समेत पर्छ।
दोस्रो भाग रिलिजको झन्डै चार वर्षपछि 'दृश्यम ३' दर्शकमाझ आउने भएको हो। यसमा अजय देवगन आफ्नो चर्चित पात्र विजयको भूमिकामा पुनः दर्शकमाझ फर्किनेछन्। सन् २०१५ मा रिलिज 'दृश्यम' र २०२२ मा रिलिज 'दृश्यम २' दुवै भागले दर्शक र समीक्षकबाट प्रशंसा पाएका थिए।
तेस्रो भागमा तबु, श्रिया सरन र रजत कपूर पनि फर्कने घोषणा गरिएको छ। त्यस्तै, अजयका छोराछोरीको भूमिका निर्वाह गर्ने इशिता दत्त र मृणाल जाधव पनि फर्कनेछन्।
'दृश्यम २' मा प्रहरीको भूमिका निर्वाह गरेका अक्षय खन्ना यस फिल्मको हिस्सा हुन् वा होइनन् भन्ने बारेमा खुलाइएको छैन।
अभिषेक पाठकद्वारा निर्देशित 'दृश्यम ३' को हाल छायांकन चलिरहेको छ। फिल्मको निर्मातामा आलोक जैन, अजित अन्धारे, कुमार मंगत पाठक र अभिषेक पाठक छन्।