भारतीय अभिनेता प्रकाश राजले आफू फिल्म 'दृश्यम ३' मा प्रवेश गरेको बताएका छन्।
अर्का अभिनेता अक्षय खन्ना यो फिल्मबाट बाहिरिएपछि उनको भूमिकामा को देखिने भन्ने अड्कलबाजी थियो। सामाजिक सञ्जालमा प्रकाशले अक्षयको भूमिका सम्हादैछन् भन्ने चर्चा समेत फैलिएको थियो।
तर प्रकाश राज स्वयंले यो कुराको खण्डन गर्दै स्पष्ट पारेका छन्। आफू कसैको ठाउँमा नआएको र फिल्ममा अलग भूमिका निभाउने उनले बताएका हुन्।
प्रकाश राजले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। उनले लेखेका छन्, 'हिन्दीमा यो आकर्षक फ्रेन्चाइज दृश्यम ३ को छायांकन सुरू भयो। एउटा अद्भूत टोली र आकर्षक भूमिकाका साथ। म ढुक्क छु कि तपाईंलाई यो मन पर्नेछ। र हो, म कसैको स्थान लिएको छैन।'
फिल्मको छायांकन सुरू हुने तालिका हुनुभन्दा केही दिनअघि अक्षय खन्नाले 'दृश्यम ३' छाडेको खबर सार्वजनिक भएको थियो। निर्माताहरुका अनुसार उनी भूमिका र पारिश्रमिक सम्बन्धी मतभेदका कारण फिल्म छोडेका थिए। 'दृश्यम २' मा उनी प्रहरी अधिकारीको भूमिकामा थिए।
'दृश्यम ३' मा अजय देवगन, तबू, श्रीय सरन, इशिता दत्तालगायतको अभिनय रहनेछ। नयाँ पात्रका रूपमा जयदीप अहलावत पनि सामेल भएका छन्। दोस्रो भाग रिलिजको झन्डै चार वर्षपछि 'दृश्यम ३' दर्शकमाझ आउने भएको हो। फिल्मको निर्देशक अभिषेक पाठक हुन्।
फिल्म २ अक्टोबर २०२६ मा रिलिज हुने तय छ।