बलिउड अभिनेता शाहरूख खानको अनुमानित सम्पत्ति एक वर्षमा २ हजार ४९० करोड भारूले घटेको छ। यद्यपि, सम्पत्ति घटे पनि उनी भारतकै सबभन्दा धनी अभिनेता बनेका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार 'हुरून इन्डिया रिच लिस्ट २०२६' मा शाहरूखको अनुमानित सम्पत्ति १० हजार करोड भारू उल्लेख गरिएको छ।
शाहरूख लगातार दोस्रो वर्ष भारतका सबभन्दा धनी अभिनेता बनेका हुन् । २०२५ को 'हुरून इन्डिया रिच लिस्ट'मा उनको अनुमानित सम्पत्ति भारू १२ हजार ४९० करोड थियो। त्यतिबेला उनी पहिलोपटक अर्बपतिको सूचीमा समेत प्रवेश गरेका थिए।
यस वर्ष भने उनको अनुमानित सम्पत्ति घटेर भारू १० हजार करोडमा झरेको छ। यस हिसाबले एक वर्षमा उनको अनुमानित सम्पत्ति २ हजार ४९० करोड भारूले घटेको हो। यसका बाबजुद उनी सूचीको पहिलो स्थानमै रहेका हुन्।
शाहरूखको सम्पत्तिमा उनको फिल्मबाट हुने आम्दानीसँगै फिल्म निर्माण कम्पनी रेड चिलिज इन्टरटेनमेन्ट र कोलकाता नाइट राइडर्ससँग सम्बन्धित व्यवसायिक लगानीसमेत समावेश गरिएको छ।
निजी कम्पनी, लगानी तथा अन्य सम्पत्तिको मूल्यांकनमा हुने परिवर्तनका कारण हुरुनले उल्लेख गर्ने सम्पत्ति अनुमानमा पनि फरक पर्न सक्ने समाचारमा जनाइएको छ।
यसवर्ष सूचीमा दोस्रो स्थानमा अमिताभ बच्चन छन्। उनको अनुमानित सम्पत्ति ४ हजार करोड भारू छ। त्यस्तै, सलमान खानको ३ हजार करोड र ऋतिक रोशनको २ हजार ५ सय करोड भारू अनुमानित सम्पत्ति रहेको छ।
गत वर्षको सूचीमा ७ हजार ७९० करोड भारू अनुमानित सम्पत्तिसहित जुही चावला पनि रहेकी थिइन्। तर यस वर्षको सूचीमा उनको नाम समावेश छैन। करण जोहर पनि यसपटक सूचीमा देखिएका छैनन्।
शाहरूख अहिले आफ्नो आगामी फिल्म 'किङ'का कारण पनि थप चर्चामा छन्। सिद्धार्थ आनन्द निर्देशित फिल्ममा शाहरुखसँगै उनकी छोरी सुहाना खान, दीपिका पादुकोण, रानी मुखर्जी र अभिषेक बच्चनलगायत कलाकारको अभिनय छ।
'किङ' आगामी डिसेम्बर २४ (पुस ९) मा प्रदर्शनमा आउने तयारी छ।