भारतीय फिल्म 'दृश्यम: द कन्क्लुजन' शुक्रबारदेखि प्रदर्शनमा आएसँगै बक्स अफिसमा बलियो सुरूआत गरेको छ। फिल्मले सुरूआती शोजबाटै दर्शकको राम्रो साथ पाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
फिल्म हेरेका दर्शकबाट पनि प्रारम्भिक प्रतिक्रिया उत्साहजनक देखिएको छ। विशेषगरी फिल्मको पटकथा, तनावपूर्ण दृश्य, मध्यान्तर र क्लाइमेक्सको ट्विस्ट दर्शकले रूचाएको बताइएको छ। नयाँ पात्रका रूपमा देखिएका जयदीप अहलावतको अभिनयलाई पनि दर्शकले प्रशंसा गरेका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका प्रतिक्रियामा कतिपय दर्शकले क्लाइमेक्सलाई अघिल्ला दुई भागसँग तुलना गर्दै प्रशंसा गरेका छन्। यद्यपि, केही दर्शकले फिल्मको कथा अनुमान गर्न सकिने खालको रहेको प्रतिक्रिया पनि दिएका छन्। अर्थात् प्रारम्भिक प्रतिक्रिया पूर्ण रूपमा एकमत भने छैन।
बक्स अफिसतर्फ भने फिल्मले सुरूआती घण्टामै राम्रो गति लिएको बताइएको छ। 'बलिउड हंगामा'का अनुसार पहिलो दिन दिउँसो १२ बजेसम्म फिल्मले भारतमा १५.३३ करोड भारू नेट कमाएको प्रारम्भिक आँकडा सार्वजनिक भएको छ। उक्त समयसम्म फिल्मको अकुपेन्सी करिब ४१ प्रतिशत रहेको जनाइएको छ।
अग्रिम टिकट बिक्रीमा पनि फिल्मले बलियो माग देखाएको थियो।
ट्रेड वेबसाइट 'स्याकनिल्क'को तथ्यांकअनुसार पहिलो दिनका लागि अनलाइन अग्रिम बिक्रीबाट मात्रै ३०.६५ करोड भारू ग्रस बराबरको टिकट बिक्री भएको छ।
अभिषेक पाठक निर्देशित 'दृश्यम ३' मा अजय देवगन, तब्बु, श्रिया सरन, जयदीप अहलावतलगायत कलाकारको अभिनय छ।
'दृश्यम' फ्रेन्चाइजको तेस्रो तथा अन्तिम अध्यायका रूपमा 'दृश्यम: द कन्क्लुजन' प्रदर्शनमा आएको हो।
यो फिल्म शुक्रबार विश्वव्यापी रिलिज भएको छ। नेपालमा पनि शुक्रबारदेखि नै प्रदर्शनमा आएको हो।