अजय देवगन अभिनीत प्रतीक्षित फिल्म 'दृश्यम: द कन्क्लुजन'ले प्रदर्शनको पहिलो दिन भारतीय बक्स अफिसमा आक्रामक सुरूआत गरेको छ।
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले साँझ ७ बजेसम्म ५१.०९ करोड भारू नेट कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार साँझ ७ बजेसम्मको ५१।०९ करोड भारू कमाइसँगै ‘दृश्यम: द कन्क्लुजन’ले यस वर्षका केही ठूला हिन्दी फिल्मको सुरूआती कमाइलाई पछाडि पारेको छ।
फिल्मले 'बोर्डर २'को ३० करोड, 'मिर्जापुर: द मूभी'को २५ करोड र 'आवारापन २'को २२ करोड भारूको ओपनिङलाई पार गरिसकेको छ।
'दृश्यमः द कन्क्लुजन'मा अजय देवगनसँगै तब्बु, श्रिया सरन, रजत कपूर, इशिता दत्ता र मृणाल जाधवलगायत कलाकार छन्।
जयदीप अहलावत, प्रकाश राज र सौरभ शुक्ला फिल्ममा नयाँ कलाकारका रूपमा जोडिएका छन्। फिल्मको लेखन तथा निर्देशन अभिषेक पाठकले गरेका हुन्।
'दृश्यम: द कन्क्लुजन' शुक्रबारदेखि नेपालका सिनेमा हलमा समेत प्रदर्शनमा छ।