अजय देवगन स्टारर फिल्म 'दृश्यम ३'ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। रिलिजपछि फिल्मले दर्शकबाट पनि निकै राम्रो प्रतिक्रिया पाइरहेको छ।
फिल्मले राम्रो गरिरहँदा यसको क्लाइमेक्सलाई लिएर पनि चर्चा भइरहेको छ।
यसैबीच, फिल्मका पटकथा तथा संवाद लेखक आमिल कियान खानले 'दृश्यम ३'को क्लाइमेक्सका लागि १०० भन्दा बढी ड्राफ्ट लेखेको खुलासा गरेका छन्।
भारतीय संचारमाध्यम द फ्री प्रेस जर्नलसँगको कुराकानीमा उनले यति धेरै संस्करण लेखेको बताएका हुन्। आफूले कति ड्राफ्ट लेखेँ भन्ने यकिन संख्या नै बिर्सिसकेको उनले बताएका छन्।
कुराकानीमा उनले फिल्मको क्लाइमेक्सलाई गोप्य राख्न निर्माण टिमले निकै सावधानी अपनाएको बताए। उनका अनुसार फिल्मको क्लाइमेक्स सबै कलाकार र प्राविधिकलाई पनि दिइएको थिएन। आवश्यक पर्ने जानकारी मात्रै सम्बन्धित व्यक्तिलाई दिइन्थ्यो।
झन् रोचक कुरा, फिल्मको क्लाइमेक्स थाहा पाउन आफ्नै साथी र आफन्तले समेत आफूलाई प्रलोभनमा पार्न खोजेको उनले सुनाएका छन्।
'फिल्मका धेरै कलाकार र प्राविधिक तथा मेरा आफ्नै साथी र आफन्तले पनि क्लाइमेक्स बताइदिन प्रलोभनमा पार्ने प्रयास गरे। तर म निर्माताप्रति इमानदार र वफादार रहें,' उनले भनेका छन्।
खानका अनुसार ‘दृश्यम’को तेस्रो भाग लेख्नु निकै ठूलो चुनौती थियो। दर्शकले विजय सालगाउँकरको चालबाजी बुझिसकेका कारण यसपटक उनीहरूलाई फेरि कसरी अचम्ममा पार्ने भन्ने मुख्य चुनौती थियो।
'दृश्यम ३' अभिषेक पाठकले निर्देशन गरेका हुन्। फिल्ममा अजय देवगनसँगै तब्बु, श्रिया सरन, प्रकाश राज र जयदीप अहलावतलगायत कलाकार छन्।
फिल्मले रिलिजको तीन दिनमै विश्वभर २७२.८ करोड भारू कमाएको छ।
फिल्म नेपालमा समेत प्रदर्शनत छ।