बलिउड तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन भएको छ।
उनको बिहीबार बिहान गोवास्थित निवासमा हृदयाघातका कारण निधन भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।
नाना पाटेकरका छोरा मल्हार पाटेकरले उनको निधनको पुष्टि गरेका छन्।
गोवाको डोना पाउलास्थित घरमा बेहोस अवस्थामा भेटिएका उनलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो।
अस्पतालमा चिकित्सकले करिब ४५ मिनेटसम्म उनलाई बचाउने प्रयास गरेका थिए।
तर उपचार प्रयास सफल हुन नसकेपछि बिहान करिब ५:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रारम्भिक विवरणमा उनको मृत्युको कारण गम्भीर हृदयाघात बताइएको छ।
पोस्टमर्टमपछि मृत्युको कारण थप स्पष्ट हुने अस्पतालका चिकित्सकले बताएका छन्।
७५ वर्षीय नाना पाटेकर हिन्दी र मराठी चलचित्रका प्रभावशाली अभिनेताका रूपमा परिचित थिए। उनको वास्तविक नाम विश्वनाथ पाटेकर थियो।
सन् १९७८ मा ‘गमन’बाट चलचित्रमा अभिनय यात्रा सुरु गरेका उनले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘वेलकम’ र ‘नटसम्राट’लगायत चलचित्रमा अभिनय गरेका थिए।
‘क्रान्तिवीर’का लागि उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए भने ‘परिन्दा’ र ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय पुरस्कार जितेका थिए।
सन् २०१३ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मान गरेको थियो।