बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म 'दृश्यम ३'ले प्रदर्शनको पहिलो सातामै विश्वव्यापी बक्स अफिसमा ३८४ करोड भारूभन्दा बढी कमाइ गरेको छ। फिल्मले भारतमा मात्रै २४५ करोड ५० लाख भारू नेट कलेक्सन गरेको छ।
द इन्डियन एक्सप्रेसका अनुसार फिल्मले प्रदर्शनको सातौं दिन बिहीबार भारतमा १३ करोड भारू नेट कमाएको थियो। यससँगै फिल्मको पहिलो साताको घरेलु नेट कलेक्सन २४५ करोड ५० लाख भारू पुगेको हो। विदेशमा ८९ करोड भारू ग्रस कमाएको फिल्मको विश्वव्यापी ग्रस कलेक्सन ३८३ करोड ६० लाख भारू पुगेको समाचारमा उल्लेख छ।
अभिषेक पाठक निर्देशित 'दृश्यम ३'क्राइम थ्रिलर फिल्म हो। फिल्मले पहिलो दिन ६२ करोड भारू नेट कमाएको थियो। दोस्रो दिन ५३ करोड ५० लाख र तेस्रो दिन ६१ करोड भारू नेट कमाएको थियो। त्यसपछि सोमबार २१ करोड, मंगलबार १९ करोड ५० लाख र बुधबार १५ करोड ५० लाख भारू नेट कमाइ गरेको थियो।
पहिलो साताको कमाइसँगै 'दृश्यम ३'ले सन् २०२२ मा प्रदर्शनमा आएको 'दृश्यम २'को भारतमा भएको २३९ करोड ६७ लाख भारूको लाइफटाइम नेट कलेक्सनलाई उछिनेको छ।
फिल्ममा अजय देवगनसँगै तब्बु, श्रिया सरन र जयदीप अहलावतलगायतका कलाकारको शीर्ष अभिनय छ। 'दृश्यम ३'नेपालमा पनि प्रदर्शनरत छ।
अक्टोबर २ देखि प्रदर्शनमा आएको फिल्म शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ।