रणवीर कपूर, साई पल्लवी र यश अभिनीत फिल्म 'रामायण'ले बक्स अफिसमा ठूलो सफलता हासिल गरिरहेको छ। प्रदर्शनको १२ दिनमै फिल्मले विश्वव्यापी बक्स अफिसमा १ हजार ४३७ करोड भारूको व्यापार गरेको हो।
बक्स अफिस ट्र्याकर स्याकनिल्कका अनुसार फिल्मले भारतमा मात्रै ९४७.२५ करोड भारूको ग्रस कलेक्सन गरेको छ। यसमा ७९२.६० करोड भारू नेट कलेक्सन रहेको छ। त्यस्तै, विदेशबाट फिल्मले ४९० करोड भारूको ग्रस कमाइ गरेको हो।
यो कमाइसँगै 'रामायण' भारतीय सिनेमाको सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा पाँचौं स्थानमा उक्लिएको छ। 'रामायण' ले 'धुरन्धर', 'आरआरआर' र 'केजीएफ च्याप्टर २' जस्ता ठूला फिल्मको लाइफटाइम कलेक्सनलाई उछिनेको छ।
स्याकनिल्कका अनुसार रणवीर सिंह अभिनीत 'धुरन्धर'ले विश्वव्यापी १ हजार ३०७ करोड ३५ लाख भारू कमाएको थियो। त्यस्तै, एसएस राजामौली निर्देशित 'आरआरआर'को कमाइ १ हजार २३० करोड र यश अभिनीत 'केजीएफ च्याप्टर २'को कमाइ १ हजार २१५ करोड भारू थियो।
विश्वव्यापी कमाइको सूचीमा अहिले 'रामायण'भन्दा अगाडि आमिर खानको 'दंगल' (२ हजार ७० करोड ३० लाख), 'धुरन्धर २' (१ हजार ८१३ करोड ३९ लाख), 'बाहुबली २' (१ हजार ७८८ करोड ६ लाख) र 'पुष्पा २' (१ हजार ७४२ करोड १० लाख) छन्।
अब 'रामायण'को नजर चौथो स्थानमा रहेको 'पुष्पा २'तर्फ हुनेछ। यी दुई फिल्मको लाइफटाइम कलेक्सनबीच करिब ३०५ करोड भारूको अन्तर छ।
'रामायण'ले प्रदर्शनको ८ दिनमै विश्वव्यापी बक्स अफिसमा १ हजार करोड भारूको आँकडा पार गरेको थियो।
नितेश तिवारी निर्देशित 'रामायण'मा रणवीर कपूरले राम, साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन्।
नेपालमा पनि फिल्मले ठूलो कमाइ गरिरहेको छ।