गुड फ्राइडे सिनेमा
सन् १८५७, भारतमा अंग्रेज शासनविरूद्ध ठूलो असन्तोष फैलिएको समय। ठाउँ ठाउँमा विद्रोहको आवाज उठिरहेको थियो।
झाँसी अंग्रेज सेनाको घेराबन्दीमा थियो। सैनिकहरू संख्या र शक्तिको हिसाबले कमजोर महसुस गरिरहेका थिए।
त्यही बेला झाँसीकी रानी लक्ष्मीबाई आफ्ना सैनिकहरूलाई एउटा पुरानो कथा सुनाउँछिन्— एक त्यस्तो योद्धाको कथा, जसले १० वर्षअघि नै अंग्रेज शासनविरूद्ध विद्रोहको आगो सल्काएका थिए।
त्यो नाम थियो— उय्यालवाडा नरसिंहा रेड्डी।
यही कथामा आधारित फिल्म हो 'सई रा नरसिंहा रेड्डी'।
सन् २०१९ मा रिलिज भएको यो तेलुगू भाषाको एक्सन ड्रामा फिल्म सुरेन्द्र रेड्डीले निर्देशन गरेका हुन्।
फिल्म ऐतिहासिक पात्रबाट प्रेरित भए पनि यसलाई काल्पनिक शैलीमा प्रस्तुत गरिएको छ। यसको केन्द्रमा आन्ध्र प्रदेशको रायलसीमा क्षेत्रका स्वतन्त्रता सेनानी उय्यालवाडा नरसिंहा रेड्डी छन्, जसले ब्रिटिस इस्ट इन्डिया कम्पनीको शासनविरूद्ध संघर्ष गरेका थिए।
फिल्ममा नरसिंहा रेड्डीको भूमिका चिरञ्जीवीले निर्वाह गरेका छन्। उनीसँगै सुदीप, विजय सेतुपति, रवि किशन, जगपति बाबु, नयनतारा र तमन्ना भाटिया लगायत कलाकारको अभिनय छ।
अमिताभ बच्चनले तेलुगू फिल्ममा डेब्यू गर्दै अतिथि भूमिका निर्वाह गरेका छन् भने अनुष्का शेट्टी पनि विशेष भूमिकामा देखिएकी छन्।
कथा नरसिंहा रेड्डीको जन्मबाट सुरू हुन्छ। उनको जन्म हैदराबाद राज्यको उय्यालवाडा क्षेत्रको प्रमुख परिवारमा हुन्छ।
जन्मिँदा मृत ठानिएका उनी फेरि जीवित हुन्छन्। त्यसपछि मानिसहरूले उनलाई ईश्वरको विशेष कृपा प्राप्त व्यक्ति मान्छन्।
सानैदेखि उनी शारीरिक रूपमा बलिया र युद्ध कलामा निपुण देखिन्छन्। तर उनको जीवन परिवर्तन गर्ने घटना तब आउँछ, जब उनले अंग्रेज शासनको अत्याचार नजिकबाट देख्छन्।
एक दिन किशोर नरसिंहाले अंग्रेजहरूले गरिरहेको फाँसीको दृश्य देख्छन्। उनका हजुरबुबाले इस्ट इन्डिया कम्पनीको शासनमा गाउँलेहरूले भोगिरहेको दुःख र अन्यायबारे बताउँछन्।
त्यही क्षण नरसिम्हाले अंग्रेजविरूद्ध लड्ने संकल्प गर्छन्।
त्यसपछि उनी गुरू गोसाई वेंकन्नाबाट युद्ध कला र दर्शनको शिक्षा लिन्छन्।
२५ वर्षपछि नरसिंहा विभिन्न क्षेत्रका पराजित राजा र प्रमुखहरूलाई एक ठाउँमा ल्याउँछन्। रेनाडु क्षेत्रमा अंग्रेजविरुद्ध संगठित प्रतिरोध सुरू हुन्छ।
तर यो विद्रोह अंग्रेजहरूका लागि ठूलो चुनौती बन्छ।
अंग्रेजले अत्याचार बढाउँदै जान्छन्। विरोध गर्ने गाउँलेहरूलाई मार्न थाल्छन्। त्यसको जबाफमा नरसिंहा रेड्डी एक्लै लड्न जान्छन्।
त्यसपछि घटनाले कुन मोड लिन्छ, यसका लागि फिल्म हेर्नुहोला।
यो फिल्मले समीक्षकहरूबाट प्रशंसा पाएको थियो।
हेर्नुस् युट्युबमा-