गुड फ्राइडे सिनेमा
दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।
नदी किनारमा बसेर खाइरहेका मानिसलाई वरिपरि के हुँदैछ भन्ने खासै चासो छैन।
अचानक नदीबाट एउटा अनौठो जीव निस्किन्छ र मानिसहरूमाथि आक्रमण गर्न थाल्छ।
केही क्षणमै रमाइलो गरिरहेको नदी किनार भागदौड र त्रासको दृश्यमा बदलिन्छ। मानिसहरू ज्यान जोगाउन दौडिरहेका हुन्छन्, तर त्यो जीव असाध्यै छिटो छ।
यहीँबाट सुरू हुन्छ दक्षिण कोरियाली निर्देशक बङ जुन–होको फिल्म 'द होस्ट'।
सन् २००६ मा रिलिज यो फिल्मको कथा हान नदी किनारमा सानो खाना पसल चलाउने गाङ–दु र उनको परिवार वरिपरि घुम्छ। गाङ–दुकी छोरी ह्योन–सो पनि त्यस दिन नदी किनारमै हुन्छिन्।
अचानक आएको त्यही जीवले उनलाई समातेर लिएर जान्छ।
छोरी हराएपछि परिवार उनलाई खोज्न निस्किन्छ।
तर समस्या राक्षससम्म मात्र सीमित हुँदैन। सरकारले उक्त जीवबाट कुनै घातक भाइरस फैलिएको हुन सक्ने भन्दै नदी आसपासको क्षेत्र बन्द गर्छ। मानिसहरूलाई क्वारेन्टिनमा राखिन्छ। परिवारले छोरी खोज्नुपर्ने हुन्छ, तर उनीहरू आफै पनि सरकारी नियन्त्रणबाट उम्किनुपर्ने अवस्थामा पुग्छन्।
यसरी 'द होस्ट' एउटा राक्षससँगको लडाइँ मात्र नभएर परिवारको खोजी र संघर्षको कथा बन्छ।
फिल्मको रोचक पक्ष के हो भने यसमा डर र हास्यलाई निकै अनौठो ढंगले मिसाइएको छ। एउटा दृश्यले आतंकित बनाइरहेको हुन्छ, अर्को दृश्यले त्यही तनावबीच हँसाउन सक्छ।
निर्देशक बङ जुन–होले राक्षसको कथामार्फत वातावरणीय प्रदूषण र सरकारी संयन्त्रप्रति पनि व्यंग्य गरेका छन्। हान नदीमा रसायन फालिएको घटनाबाट जीवको उत्पत्तिको पृष्ठभूमि बनाइएको छ। यही कारण फिल्ममा राक्षस केवल डर देखाउने पात्र भएर सीमित हुँदैन; त्यसले मानिसको आफ्नै लापरबाही र त्यसको परिणामतर्फ पनि संकेत गर्छ।
करिब दुई दशकअघि बनेको भए पनि 'द होस्ट' को कथा आज पनि ताजा लाग्नुको कारण यही हो। ठूलो राक्षस, भागदौड र एक्सनसँगै फिल्मले एउटा परिवारको भावनात्मक कथा पनि बोकेको छ।
हेर्नुस् द होस्ट अंग्रेजीमा।