गुड फ्राइडे सिनेमा
शिवकुमार प्रहरी हुन्। काममा उनी कडा छन्, परिवारसँग भने भावुक। श्रीमती अपर्णा र छोरी लक्की उनको संसार हुन्।
तर एउटा घटनापछि शिवको यो संसार एकाएक भत्किन्छ।
एउटा दुर्घटनामा परेपछि उनी अस्पताल पुग्छन्। शरीरमा चोट छ, दिमागमा घटनाका छिटफुट सम्झना। होसमा आएपछि उनी सबैभन्दा पहिले श्रीमती र छोरीलाई खोज्छन्। तर उनीहरू अस्पतालमा हुँदैनन्। कहाँ छन् भन्ने कसैलाई थाहा छैन।
आफ्नो परिवारलाई के भयो भन्ने प्रश्नले शिवलाई बेचैन बनाउँछ। उनी खोजीमा निस्किन्छन्।
खोज्दै जाँदा उनले थाहा पाउँछन्— सहरमा मानिस हराउने घटना उनको परिवारमा मात्र भएको छैन। एकपछि अर्को व्यक्ति बेपत्ता भइरहेका छन्।
घटनाहरूबीच कुनै सम्बन्ध छ कि छैन भन्ने पत्ता लगाउन शिवकुमार आफै अनुसन्धानमा जुट्छन्। तर उनको सबभन्दा ठूलो समस्या उनी आफै हुन्। दुर्घटनापछि उनको स्मरणशक्तिमा असर परेको छ। केही घटना सम्झिन खोज्दा दिमागमा धमिला दृश्यहरू आउँछन्।
कहिलेकाहीँ आफूले देखेको कुरा वास्तविक हो कि भ्रम, छुट्ट्याउन पनि उनलाई गाह्रो हुन्छ।
त्यसबीच उनी केही यस्ता सुराकसम्म पुग्छन्, जसले बेपत्ता मानिसहरूको घटनालाई ठूलो आपराधिक सञ्जालसँग जोड्न थाल्छ।
यहीँबाट तेलुगू एक्सन–थ्रिलर फिल्म 'उग्रम' को वास्तविक कथा सुरू हुन्छ।
उग्रमको कथा अगाडि बढ्दै जाँदा बेपत्ता भएका मानिसहरूबीचको सम्बन्ध, त्यसका पछाडिको अपराध र शिवकुमारको परिवारमाथि आएको संकट क्रमशः जोडिँदै जान्छ।
फिल्मले सुरूआतमा उठाएका प्रश्नहरूको उत्तर एकैपटक नदिई बिस्तारै रहस्य खोल्ने प्रयास गरेको छ।
हेर्नुहोस् युट्युबमा