अहिलेका चर्चित कलाकार दुर्गेश थापाको यो साता काठमाडौंमा हुने भनिएको लाइभ कन्सर्ट पोस्टपोन्ड भएको छ।
वैशाख १८ गते बिहीबार हायात ग्राउन्ड बौद्धमा दुर्गेश थापा लाइभ कन्सर्ट हुने तयारी थियो। आयोजक ट्राइएङल इन्कका प्रमुख कार्यकारी आशिष दाहालले कन्सर्ट पोस्टपोन्ड भएको बताए।
'हामीले दुर्गेशसहित अन्य कलाकारहरू पनि थप्यौं। तर उहाँहरूको प्रमोसनका लागि समय कम जस्तो लाग्यो। त्यसैले प्रमोसनका लागि अलि समय छुट्याउने निधो गर्यौं,' उनले भने, 'अब असार/साउनमा वर्षाका कारण कन्सर्ट गर्न गाह्रो छ। भदौंमा गर्ने योजना छ। आज सूचना जारी गर्दैछौं।'
उनले कक्षा १२ का कतिपय विद्यार्थीहरूको पनि म्यासेज आइरहेकाले कन्सर्ट सार्ने निधो गरिएको बताए।
दुर्गेशले यो कन्सर्टको तयारीका लागि स्टेज कार्यक्रम लिएका थिएनन्। कन्सर्ट सर्ने भएपछि उनी सोमबारमात्रै गुल्मी महोत्सवमा पुगेका छन्। उनी हेलिकप्टर लिएर यो महोत्सवमा पुगेका थिए।
दुर्गेश पछिल्लो समय 'दुश्मन हेरेको हेर्यै' गीतका कारण चर्चामा छन्। यो गीतले युट्युबमा ३ महिनामै ७ करोड ३५ लाखभन्दा बढी भ्युज पाएको छ। गीत अझै ग्लोबल ट्रेन्डिङमा छ।