दक्षिण कोरियाको सफल सांगीतिक प्रस्तुतिपछि नेपथ्यले अब संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा कन्सर्ट गर्ने भएको छ।
नेपथ्यले आगामी अक्टोबर ४ अर्थात् असोज १८ गते दुबईको ‘इन्टरनेट सिटी’स्थित ‘दि अजेन्डा’ हलमा प्रस्तुति दिने भएको हो।
यो नेपथ्यको दुबईमा चौथो कन्सर्ट हुनेछ। यसअघि तीनवटै प्रस्तुति ‘अल नासेर लेजरल्यान्ड’मा गरेको नेपथ्यले यसपटक भने थप सुविधासम्पन्न नयाँ स्थल रोजेको हो।
दसैंको मुखमा दुबईमा रहेका नेपालीलाई लक्षित गर्दै कन्सर्ट आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। दुबईमा ठूलो नेपाली समुदायको बसोबास रहेकाले नेपालीपन र सांगीतिक माहोलसहितको कार्यक्रम गर्ने तयारी रहेको नेपालयले जनाएको छ।
'दुबईमा रहेर नेपाली कार्यक्रम हेर्दै आएका दर्शकको स्वाद बढोत्तरीका लागि हामीले यसपटक थप स्तरीय कार्यक्रम स्थल र प्रस्तुतिका विभिन्न पाटोमा उत्तिकै ध्यान पुर्याएका छौं,’ नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘दर्शकले संगीतसँगै चाडबाडको मुखमा नेपाली समुदायकै जमघटको पनि स्तरीय अनुभव गर्नेछन्।’
नेपथ्यले पहिलोपटक सन् २०१५ मा दुबईमा प्रस्तुति दिएको थियो। नेपालको भूकम्पअघि नै तय भएको उक्त कार्यक्रमबाट प्राप्त रकम ब्यान्डले भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको थियो। कोभिड महामारीपछि नेपथ्यले पहिलो विदेश यात्रा पनि सन् २०२२ मा दुबईबाटै सुरू गरेको थियो।
लोकलयमा आधारित गीतहरू सुनाउँदै आएको नेपथ्यले पनि त्यहाँ रहेका नेपालीबाट न्यानो साथ पाउँदै आएको ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरूङ बताउँछन् । ‘दुबईका दाजुभाइ, दिदीबहिनीका सामुन्ने प्रस्तुति दिन हामीले आवश्यक तयारी गरिसकेका छौं,’ अमृत गुरूङले भने, ‘श्रोता–दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरू यसपटक प्राथमिकतामा परेका छन्।’
‘दुबई फेरि नेपथ्यलाई स्वागत गर्न तयार छ,’ आयोजक अनिल लामिछाने भन्छन्, ‘यसै सहरमा आयोजना भएका अघिल्ला नेपथ्य कन्सर्टभन्दा स्तरीयताको अनुभूति दिलाउन अन्तर्राष्ट्रिय स्तरको हल छनोट गरिएको छ। साउन्ड सिस्टममा पनि थप व्यवस्थित प्रबन्ध मिलाएका छौं।’
दुबईमा आयोजित अघिल्ला कन्सर्टहरूको बेला अन्य इमिरेट्सहरू विशेष गरी आबुधाबी, शारजहाँ र रस अल खइमाबाट पनि नेपाली दर्शक उल्लेख्य संख्यामा उपस्थित भएका थिए। यसपटक त्यो संख्या अझ बढ्ने विश्वास स्थानीय आयोजकले लिएका छन्।
यसपटकको कन्सर्टमा अमृत गुरूङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरूङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।
कन्सर्टका लागि अनलाइनबाट टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ। टिकट नेपथ्यको आधिकारिक वेबसाइटबाट खरिद गर्न सकिने आयोजकले जनाएको छ।
