भक्तपुरमा ठूलो स्तरको च्यारिटी म्युजिक फेस्टिभल 'म्युजिक जात्रा-ख्वपः' आयोजना हुने भएको छ।
आयोजकले बुधबार क्लब बागमतीमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १२ गते भक्तपुरको सल्लाघारी मैदानमा कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको हो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा 'कुमा सागर एन्ड द ख्वपः ब्यान्ड' रहनेछ। भक्तपुरमा जन्मिएका कुमा सागरले आफ्नो ब्यान्डसहित भक्तपुरमै पहिलोपटक प्रस्तुति दिन लागेका हुन्।
कार्यक्रममा 'मुक्ति एन्ड रिभाइभल' तथा 'निभाः डंगोल एन्ड चबाही दबु'ले पनि प्रस्तुति दिनेछन्।
संगीतसँगै भक्तपुरको मौलिक कला, संस्कृति र समुदायलाई जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति तथा कलाकारका लाइभ सांगीतिक प्रस्तुति रहनेछन्। यस्तै, स्थानीय खाना तथा जीवनशैलीसँग सम्बन्धित स्टलसमेत राखिने आयोजकले जनाएको छ।
लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो। कार्यक्रमको मुख्य प्रायोजक 'एक्सट्रीम इनर्जी ड्रिंक' रहेको छ। आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन दर्शकले 'एक्सट्रीम इनर्जी ड्रिंक'को खाली क्यान ल्याए पुग्नेछ।
'म्युजिक जात्रा–ख्वपः'लाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक उद्देश्यसँग जोडिएको आयोजकको भनाइ छ। कार्यक्रमबाट प्राप्त व्यावसायिक आम्दानीअन्तर्गत प्रायोजन तथा स्टल भाडाबाट उठेको रकमको ५० प्रतिशत भक्तपुरको समुदायमा आधारित पुनस्र्थापना संस्था (सीबीआरओ)लाई प्रदान गरिनेछ।
साथै, कार्यक्रम अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकबाट प्राप्त हुने प्रत्यक्ष सहयोग रकमसमेत सीबीआरओलाई प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार 'म्युजिक जात्रा-ख्वपः'मार्फत भक्तपुरको कला, संस्कृति र संगीतलाई उत्सवका रूपमा प्रस्तुत गर्नुका साथै सामाजिक सहयोगमार्फत समुदायसँग जोडिने प्रयास गरिनेछ।
