दक्षिण कोरियाली चर्चित सांगीतिक समूह बीटीएसले अमेरिकी एमटीभीको भिडिओ म्युजिक अवार्डमा इतिहास रचेको छ।
बीटीएस 'सङ अफ द इयर' अर्थात् 'वर्षको उत्कृष्ट गीत'को अवार्ड जित्ने पहिलो के-पप समूह बनेको हो।
सेप्टेम्बर २७ मा अमेरिकाको लस एन्जलसमा आयोजित समारोहमा बीटीएसले आफ्नो गीत 'स्विम'का लागि 'सङ अफ द इयर' अवार्ड जितेको हो। योसँगै समूहले 'बेस्ट के-पप' र 'बेस्ट ग्रुप'को अवार्ड पनि हात पारेको छ।
'सङ अफ द इयर' विधामा बीटीएसले म्याडोना तथा साब्रिना कार्पेन्टर, ओलिभिया डिन, एला ल्याङ्ली, पिंकप्यान्थरेस तथा जारा लार्सनलगायतका कलाकारका गीतलाई पछि पारेको थियो।
यसअघि सन् २०२१ मा बीटीएस ‘डाइनामाइट’का लागि ‘सङ अफ द इयर’मा मनोनयन हुने पहिलो कोरियाली कलाकार बनेको थियो। तर अवार्ड जित्न भने सकेको थिएन। गत वर्ष ब्ल्याकपिंककी रोसेले ब्रुनो मार्ससँगको ‘एपीटी.’का लागि यो अवार्ड जितेकी थिइन्। त्यसैले यसपटक बीटीएसको जितसँगै यो विधामा लगातार दोस्रो वर्ष के-पपको उपस्थिति बनेको छ।
बीटीएसले यसपटक आफू मनोनयन भएका तीनवटै विधामा अवार्ड जितेको हो।
'बेस्ट ग्रुप'मा यो समूहको पाँचौं जित हो भने 'बेस्ट के-पप' विधामा चौथोपटक अवार्ड हात पारेको हो।