लोकरक ब्यान्ड नेपथ्य भारतको सिक्किमस्थित गान्तोकमा सांगीतिक प्रस्तुति दिने तयारीमा जुटेको छ।
नेपथ्यले आगामी अक्टोबर ३१ (कात्तिक १४) मा गान्तोकको पाल्जोर स्टेडियममा कन्सर्ट गर्न लागेको हो।
सिक्किममा चौथोपटक प्रस्तुत हुन लागेको नेपथ्यले यसपटक राजधानीको मुख्य स्टेडियममा कार्यक्रम गर्न लागेको हो। कन्सर्टलाई भव्य बनाउन व्यापक तयारी भइरहेको आयोजक पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्कले जनाएको छ।
कन्सर्टको घोषणालगत्तै सिक्किम सरकारले समेत यसप्रति चासो देखाएको थियो। मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकटसँगै नेपथ्य अंकित टिसर्ट सार्वजनिक गरेका थिए।
'कन्सर्टका लागि आवश्यक साधनस्रोत जुटाउनेदेखि व्यवस्थापनसम्मका तयारी तीव्र रूपमा अघि बढिरहेका छन्,' आयोजक संस्थाका विकेश कायस्थले भने, 'मैदानको व्यवस्थापन र सुरक्षालाई विशेष प्राथमिकतामा राखेका छौं।'
उनका अनुसार सिक्किमवासीले लामो समयसम्म सम्झिरहने गरी कार्यक्रम आयोजना गर्ने तयारी छ। हिमाली राज्य सिक्किमको पर्यटन प्रवद्र्धन र युवा पुस्तामा उत्साह थप्ने उद्देश्यसमेत कन्सर्टसँग जोडिएको उनले बताए।
कन्सर्टका लागि अक्टोबर ३१ मा साँझ ५ बजेदेखि स्टेडियमका ढोका खुल्नेछन् भने साँझ ७ बजेदेखि सांगीतिक प्रस्तुति सुरू हुनेछ।
नेपाली भाषा, संस्कृति र लोकसंगीतसँग निकट सम्बन्ध रहेको सिक्किममा नेपथ्यका गीतहरू लामो समयदेखि लोकप्रिय छन्। त्यहाँका रेडियोहरूमा समेत ब्यान्डका गीत नियमित बज्ने गरेका छन्। सिक्किमका श्रोताबाट प्राप्त हुने प्रतिक्रियाले आफूलाई उत्साहित बनाउने गरेको नेपथ्यका मुख्य गायक अमृत गुरूङ बताउँछन्।
'सिक्किमका रेडियोमा बज्ने नेपथ्यका गीत सुनेर प्रभावित श्रोताले पठाएका मायालु सन्देश बेलाबेला पाइरहेको हुन्छु,' अमृतले भन्छन्, 'यसपटक रंगशालामै कन्सर्ट आयोजना हुन लागेको खबरले उत्साह अझ बढाएको छ।'
उनका अनुसार नेपथ्य स्थापनाको सुरूआती समयमै कन्सर्टका लागि निम्तो दिने दर्शकमध्ये सिक्किम-दार्जिलिङ क्षेत्रका संगीतप्रेमी पनि थिए।
नेपथ्यको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले पछिल्ला प्रस्तुतिहरूमा दर्शकबाट प्राप्त उत्साहजनक प्रतिक्रिया सिक्किममा पनि दोहोरिने विश्वास व्यक्त गरे।
'अन्तर्राष्ट्रिय मञ्चदेखि साना गाउँसम्म ब्यान्डलाई समान स्तरमा प्रस्तुत गर्दै आएका छौं,' उनले भने, ‘पछिल्लो एक महिनामा दक्षिण कोरिया, दुबई र काठमाडौंका कन्सर्टमा दर्शकबाट पाएको उत्साह सिक्किममा पनि दोहोरिने अपेक्षा छ।'
कन्सर्टमा मुख्य गायक अमृत गुरूङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरूङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।
सिक्किमको प्रस्तुतिपछि नेपथ्यले पूर्वी नेपालका दुई सहरमा कन्सर्ट गर्नेछ। ब्यान्डले कात्तिक १८ मा इटहरी र कात्तिक २१ मा झापाको चारआलीमा प्रस्तुति दिने कार्यक्रम छ।
त्यसपछि तिहारलगत्तै मुलुकका थप चार साना तथा मझौला सहरमा साङ्गीतिक यात्रा गर्ने नेपथ्यले डिसेम्बरमा अस्ट्रेलियामा पनि प्रस्तुति दिनेछ।
यी कन्सर्टका टिकट नेपथ्यको आधिकारिक वेबसाइटमार्फत अनलाइन खरिद गर्न सकिने व्यवस्थापक नेपालयले जनाएको छ।