नर्वेका नागरिक हुन् जिमी यङ। ५० वर्षका भए। उनी यति बेला पाटन दरबार संग्रहालय भ्रमण गर्न आइपुगेका छन्।
मन्दिरै मन्दिरको सहर भनेर चिनिने काठमाडौं उपत्यकामा उनले थुप्रै कुरा देख्छन्। पाटन संग्रहालय जाँदा पण्डितले पूजा गरिरहेको, महिलाहरू बसेर माला बुनिरहेको, कोही मोबाइलमा गीत बजाएर नाचिरहेको त कोही धाराको पानीसँग खेलिरहेको देखेर उनी दंग पर्छन्।
त्यही क्रममा उनी माला उनिरहेका महिलाहरू भए ठाउँ पुग्छन्। त्यहाँ पुगेर महिलाहरूसँग जिस्किँदै कुराकानी गर्न खोज्छन्।
उनी आफ्नो देश, घर, श्रीमती, छोराछोरी, आफन्त, नातेदार, साथीसंगी सबै छाडेर नेपाल आएका हुन्छन्।
उनको देशमा उमेरले पचास वर्ष काटेपछि मान्छेलाई समाजले हेर्ने दृष्टिकोण बदलिन्छ। यो उमेर कटेपछि मान्छेले केही काम गर्न सक्दैन, अब मान्छेको आराम गर्ने समय भयो भन्ने धारणा छ। त्यसैले नाममा 'यङ' (जवान) भए पनि उनी बूढा करार हुन्छन्। काम पनि पाउँदैनन्। अब आफ्नो अस्तित्व के त भन्ने प्रश्नले उनलाई खान थाल्छ।
यही अलमलमा परेका उनी विभिन्न देशको यात्रा गर्छन्। नेपाल आउनु पछाडिको उद्देश्य पनि आफ्नो अस्तित्वको खोजी नै हुन्छ।
पश्चिमा देशको रहनसहनमा हुर्केका उनको व्यवहारलाई नेपालीहरूले सहजै लिन्छन्। उनको पचास वर्षे उमेरलाई पनि कसैले नकारात्मक मूल्यांकन गर्दैन। अझ उमेरकै कारण बढी सम्मान पाउँछन्।
नेपालमा उनले नयाँ परिवार पनि भेट्छन्। रगतको नाताबिना पनि परिवार सिर्जना हुन्छ भन्ने कुरा उनले बुझ्छन्।
यही सन्देश उनले दर्शकलाई पनि दिन खोजेका छन्।
जिमी यङ नाटक 'वानप्रस्थ' का मुख्य पात्र हुन्। काठमाडौंको मण्डला थिएटर र नर्वे, ओस्लोस्थित थिएटरको सहकार्यमा बनेको 'वानप्रस्थ' नाटक पाटन दरबार संग्रहालयको परिसरमै मंगलबार र बुधबार साँझ ७ बजे देखाइएको थियो।
नाटक प्रस्तुतिमा पाटन क्षेत्रको रहनसहन र संस्कृति पनि अटाएको थियो।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/vanaprastha%20%2814%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/vanaprastha%20%2816%29.jpg)
'वानप्रस्थ नाटकले सबै कुराको आ–आफ्नै महत्व हुन्छ भन्ने कुरा देखाउन खोजेको हो,' रंगकर्मी तथा नाटकका सह-संयोजक सोमनाथ खनालले भने।
सोमनाथले यसमा नाटक निर्देशककै पात्रको भूमिका निर्वाह गरेका छन्। यो पात्रले नर्वेका नागरिक जिमीले सोधेका विभिन्न प्रश्नहरूको जवाफ दिइरहेको हुन्छ।
आफ्नो अस्तित्व खोजीमा हिँडेका जिमीलाई निर्देशकले हिन्दु धर्मकी देवी कालीलाई चिनाउँछन्। जिमी कालीको परिकल्पनामा डुब्छन् र कालीकाे नृत्य देख्छन्। उनी आफैं त्यसमा समाहित हुन्छन्। केही समयपछि अचेत हुन्छन्। अर्को पात्रले कवि विप्लप प्रतीकको कविता सुनाउँदै उनलाई उठाउँछन्।
नाटकमा सुरूदेखि अन्त्यसम्म हिन्दु संस्कृति दर्साइएको छ। कतिपय कुरामा अन्धविश्वास पनि देख्न सकिन्छ।
यो नाटकका लागि बाह्रदिने कार्यशाला सञ्चालन गरिएको थियो। नर्वेबाट आएका ६ जना पात्र पनि नाटकमा छन्। नर्वेको चर्चित ब्यान्ड 'मोटरसाइको' ले सांगीतिक प्रस्तुति दिएको छ। संवादभन्दा बढी मल्टिमिडियाको काम बढी देख्न सकिन्छ। त्यस्तै प्रोजेक्टरमार्फत मञ्चमा भिडिओ देखाइएको थियो।
'नेपालमा यसरी मल्टिमिडिया केन्द्रित नाटक देखाउन खोजिएको पहिलोपटक हो,' सोमनाथले भने, 'मैले नाटकबाट धेरै कुरा सिक्न पाएँ। यसरी पनि कथा भन्न सकिने रहेछ, प्रविधि र यससँग सम्बन्धित कुराको महत्व कति धेरै हुँदो रहेछ भन्ने बुझेँ।'
नाटकको कार्यशालामा रंगकर्मीहरूलाई जीवनमा गुमाएको कुरा सम्झिन लगाइएको पनि उनले जानकारी दिए। त्यही अनुभव नाटकको कथाका ठाउँठाउँमा भेट्न सकिन्छ।
नाटकको मुख्य पात्र जिमी यङको वास्तविक नाम टोर्बजिअन डेभिडसन हो। नेपाली रंगमञ्चका कलाकारहरूसँग काम गर्दा रमाइलो अनुभव भएको उनले बताए।
'सबै धेरै खुला, मैत्री र सहयोगी लाग्यो। मैले धेरै अनुभव संगाल्न पाएँ,' उनले भने।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/vanaprastha%20%289%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/vanaprastha%20%281%29.jpg)
नर्वेको थिएटरको समूहको नाम हो 'डे उट्भातग्ते'। यसले विगत ३० वर्षदेखि नाटक गर्दै आएको छ। नर्वेमा नाटकमार्फत धेरै पुरस्कार पनि जितेको छ। वानप्रस्थ उनीहरूको २४ औं नाटक हो। उनीहरूले यो नाटक नर्वेमा धेरै पटक प्रदर्शन गरिसकेका छन्।
१२ दिनको कार्यशालापछि यो नाटक बनाउन सफल भएकामा धेरै खुसी लागेको डेभिडसनले बताए।
'नेपाल आउँदा हामीसँग कथाको फ्रेम मात्र थियो। मण्डलाको सहकार्यमा हामीले आफ्नो कथा विकास गर्न पायौं,' उनले भने।
नाटकमा देखाइएको कथा कलाकारहरूको व्यक्तिगत कथासँग पनि जोडिएको छ। यो नाटक मण्डलामा देखाउने माध्यम निर्देशक रामहरि ढकाल हुन्। ढकाल नर्वेमा मञ्चन हुने नाटकहरूमा अभिनय गर्छन्।
वानप्रस्थ नाटकको नाम वेदबाट लिइएको हो। वेदमा उल्लेख गरिएअनुसार मानव जीवनका चार चरण हुन्छन्– ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास।
यीमध्ये तेस्रो चरण वानप्रस्थले मान्छे ५० देखि ७५ वर्षको जीवनलाई देखाउँछ।
वानप्रस्थ चरणमा पुगेको मान्छेले आफ्नो जीवनको अस्तित्वलाई कसरी लिन्छ, बुझ्छ भन्ने नाटकले देखाउन खोजेको छ। उमेर पाको भयो भन्दैमा आफ्नो अस्तित्व र ज्ञानलाई बूढो हुन दिन हुँदैन भन्ने नाटकको सन्देश हो।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/vanaprastha%20%2815%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/vanaprastha%20%2813%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/vanaprastha%20%287%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/vanaprastha%20%288%29.jpg)