आँखामा थुम्केरानी हृदयमा इलाम
वरपर हुस्सुले छोपेको थियो, उहाँहरू भन्दै हुनुहुन्थ्यो, 'यी सबै परपरका ठाउँ हेर्न घाम झुल्केको हुनुपर्छ।'
एकैछिनमा आकाशमा घाम टिलिली टल्कियो। मलाई लाग्यो, 'घाम होइन हामी मानिस झुल्किरहेछौँ थुम्केको सौन्दर्यसँगै।'
अलिक आकाशले हिस्सी परेको अनुहार देखायो। हामीले 'थुम्केरानी काव्यप्रभात' लाई निरन्तरता दिँदै कविता वाचन गर्यौँ। हामी ३१०० मिटर उचाइमा पुगेका थियौँ। जहाँ पुगे पनि हाम्रो तनसँगै मन पुगेको छ। कवि हुनुको अनमोल सौन्दर्य जहाँ पनि कविता वाचन गर्न तयारै भइन्छ। साथै इलामको आतिथ्यको प्रशंसा कसरी गरौँ? थुम्केको थुम्कोबाट तल झर्दाझर्दै बाटैको घरमा दूध तताएर हामीलाई पर्खिरहनुभएको रहेछ जीतबहादुर सर। हामीसँग हुनुहुन्थ्यो, विष्णु भाइ, गोकुलप्रसाद सञ्जेल सर, नुरज भट्टराई (नदी) भाइ, माईजोगमाई गाउँपालिकाका पूर्वप्रमुख जीतबहादुर राई सर, प्रभा दिदी, हिमा दिदी, मीरा दिदी लगायत निकै जना स्थानीय। हामी थुम्केबाट बिहानीको शीतलमा थपीथपी दूधसँगै इलामको प्रेम पिएर हिँड्यौँ।
हिमा दिदीको घरबाट बिदा भएर हामीले नयाँबजार जानु थियो। बाटैमा पर्थ्यो जीतबहादुर राई सरको घर। यसै गाउँमा तीन दिनअघि जीतबहादुर सरको गाई बाघले खाएको रहेछ। त्यही बाटो थियो रातो हाब्रेको। तर हामीमा कति पनि त्रास थिएन। आफ्नै धुनमा गीत गाउँदै, मीरा दिदीका अलिखित साहित्यलाई श्रवण गर्दै बाटो काटेको पत्तै भएन। न बाघको त्रास, न हाब्रेको।
हतार थियो विद्यालयको आतिथ्य लिन। श्री अमरकल्याण नमुना मा.वि.का प्रधानाध्यापक धनबहादुर भण्डारी सरले विद्यालय भ्रमणको निमन्त्रणा दिनुभएको थियो। निकै व्यवस्थित सामुदायिक विद्यालय रहेछ अमर कल्याण नमूना मा.वि.। काठमाडौँबाट उपहारस्वरूप लगिएको अनिता कोइरालाको 'उज्यालो औँसी' को हस्तान्तरण र पुस्तकालय अवलोकन कार्य सकेर हामी नयाँबजार उक्लियौँ।
प्रीतिको एउटा डोरी थुम्के र नयाँबजारले हामीसँग गाँसेको छ। इलास्टिकझैँ तन्किरहने यो डोरी जता पनि तन्किएरै पुगिरहेको छ। अन्तिम साँझ मीरा दिदीको घरमा ढकने पकाएर खाने योजना बन्यो। यता प्रभा दिदी र केशव दाजुले एक छाक खाना हाम्रोमा खानुपर्छ भनिरहँदा आत्मीयताको त्रिवेणीमा हामी तैरिरहेका थियौँ। ढाका भिनाजु र नर्वदा दिदी पनि एक छाक खाना खाने प्रस्ताव राखिरहनुभएको थियो। दिउँसोको योजनाअनुसार हामी मीरा दिदीको निवासमा बास बस्ने भयौँ।
दिदीभिनाजुसँग ढकने पकाउन म पनि मिसिएँ। झापा र इलामको मिश्रित स्वाद निकै मिठो भयो। अलग-अलग संस्कृतिको समन्वयले नयाँ संस्कृतिको जन्म भएझैँ ढकनेको स्वादमा नयाँपन आयो। ढकनेको मिठो स्वादसँग सीताराम भिनाजुले हार्मोनियमको धुनमा मिसाउनुभएको कर्णप्रिय स्वरले नयाँबजारको अन्तिम साँझ सङ्गीतमय बनाएको थियो। सुभाष सरको सङ्गीतभक्ति, सङ्गीतध्यानी एकाग्रताले वातावरण अझ मधुर बन्दै थियो। हेम सरले ट्रयाकमा गाउनुभएको सुमधुर गीतले साङ्गीतिक साँझलाई अझ मनोरम बनाएको थियो।
वृषजीले स्टेजमा गीत गाउनुभएन भने कार्यक्रमको मिठास नै रहँदैनथ्यो। कक्षा दशका विद्यार्थी हामी वृषजीको गीत सुन्न आतुर हुन्थ्यौँ। लीला सिँजाली दाइ, गङ्गा गड्तौला दाइ, गङ्गा राई सर ओहो! कति जनाको त नाम याद गर्न पनि सकिनँ। एउटा साङ्गीतिक टिम थियो। तिहारमा देउसी खेल्नेदेखि विद्यालयको वार्षिकोत्सवमा सक्रिय भएर वातावरणलाई सङ्गीतमय बनाउनुहुन्थ्यो। झल्झली उही यादमा डुबिरहेछु म। सीताराम भिनाजुको हार्मोनियमसँगै मनको धुन गुञ्जिरहेछ मभित्रभित्रै। म सम्झनामा पुगेकी छु श्री गडीगाउँ मा.वि.को साङ्गीतिक कार्यक्रममा। गीत सुन्न थालेपछि निद्रा आएको पनि थाहा नपाउने मेरो बानीले होला मलाई निद्राको कुनै सङ्केत थिएन तर सबै जना पालैपालो उङ्न थालेपछि हामीले आ-आफ्नो बिस्तरा खोज्यौँ।
हामी जोरकलशदेखि सामूहिक रूपमा नौ जना भइसकेका थियौँ। जोरकलशमा झरेर उदय भिनाजुले उहाँको पसलमा चिया खुवाएपछि पाकेका कोला झोलामा राखेर पठाउनुभएको थियो। त्यो हार्दिकताले अपनत्वमाथि एउटा विजयको झन्डा फहराएको थियो। हामीले गाडीमा नचढी झोलामा बोकेको कोसेली कोला बाँडीचुँडी खायौँ। यात्रा त एउटा सहकार्य रहेछ। नवपरिचित दार्जिलिङको घुममा बस्ने दाजुभाउजू पनि हामीसँगै सहयात्रामा हुनुहुन्थ्यो।
सवारीले उकालोको रफ्तार लिएपछि मैले विभिन्न ठाउँ चिनाउँदै गएँ। चिनाउने क्रम त कोसी कटेदेखि नै भइरहेको थियो तर मेरा लागि विशेष थिए यी पूर्वी पहाडका नामहरू। भिरपाखाभरि लहलह हरिया बुटाबाट लामा-लामा अम्लिसाका हातहरूले हामीलाई स्वागत गरिरहेका थिए।
आफू जन्मिएर २५ वर्ष बिताएको ठाउँ, मलाई बुटाबुटाले चिन्थे, ढुङ्गाढुङ्गाले र थुम्काथुम्काले चिन्थे। कन्याम कटेर फिक्कल पुगेपछि मेरा लागि पनि नौलो हुन थाले ठाउँहरू। हामी नजिकै भएर पनि आफ्नै भूमिको पहिचानबाट अलग्गिएका हुन्छौँ। साँच्चै हामीले आफैँलाई पनि चिनेका हुँदैनौँ। फिक्कल एक पटक पुगे पनि मेरा लागि नितान्त नौलो बन्यो।
अब ठाउँ चिनाउने पालो सविता बहिनी र हेम सरको थियो। दार्जिलिङका दाजुभाउजूले फिक्कलबाट हामीलाई छोडिसक्नुभएको थियो। नयाँबजार जाने गाडी खोजेर हेम सरले ल्याउनुभयो। आफ्नो ठाउँ पुगेपछि रैथाने भएर हरेकसँग भेट्नु, माइली भाउजूको खबर सोध्नु, अन्तरे काकाको सन्चोबिसन्चो सोध्नु, मन्दिरका पुजारी बा फेरिए कि उही छन् भन्ने जिज्ञासा बढ्नु, खोलाको बाटो कस्तो भयो होला, पुल राम्रै छ कि भत्किँदै छ, फुलमायाले बिर्सिएकी छे कि सम्झिएकी छे भन्दै उसकै अनुहार चोक र गल्लीमा खोज्नु कति आनन्ददायी क्षण होला?
हेम सर सबैसँग हात हल्लाउँदै, हात जोड्दै, हात मिलाउँदै, मुसुक्क मुस्कुराउँदै चारैतिर जिज्ञासु आँखा डुलाउँदै फिक्कल बजारभरि घुमिरहनुभएको थियो। म आफ्नै गाउँ पुग्दा भेटेका आफन्त र साथीभाइको यादमा चुर्लुम्म डुबुल्की मार्दै थिएँ। सवारीको चक्का नयाँबजारतिर घुम्न थाल्यो। उकाली-ओराली, पहाडी माटोको विशेषता, पहिरोको उद्देश्य, बाटोको नियति, अवरोधको चाङ सबै पार गर्दै नयाँबजारको काफ्ले होटलमा पुगेर हामीलाई घिसारिरहेको सवारीको पाङ्ग्रो घ्याच्च रोकियो। ओर्लिएर वरपर हेरेँ।
माथिबाट थुम्केरानीले हात हल्लाएर स्वागत गरेझैँ लाग्यो। केशव दाजु, ढाका भिनाजु, प्रभा दिदी, चन्द्रमणि काफ्ले भाइ, मीरा दिदी, मन्दाता दिदी सबै जना हामीलाई स्वागत गर्न माया, स्नेह, सम्मानका पछ्यौरी ओछ्याएर उभिनुभएको थियो। पानीका मसिना थोपाथोपीले हामीलाई स्पर्श गर्दै स्वागतमा ताली बजाए।
चौथो दिन जेरी, रोटी, दूध र सब्जी खाएर हामीले बिदाइको तयारीमा भाग लियौँ। उपहारस्वरूप प्रेमले बनाइएको बुनियाको पोको काफ्ले भाइले हातमा थमाइदिँदा मलाई लाग्यो, साँच्चै माइतबाट छोरी घर फर्किँदैछे। म उभिएकी छु माइतीको आँगनमा। ब्यागहरू सबै केशव दाजुकामा थिए, किनकि पहिलो दिन नयाँबजार झरेपछि खानपिन सकेर हामी छोरीमान्छे जति तीनै जना केशव दाजुकैमा बास बसेका थियौँ।
'भारती म्याम तपाईंहरूलाई मैले गुरुको घरमा बास बस्ने व्यवस्था मिलाएको छु है!' हेम सरले कार्यक्रमको निम्तोसँगै जानकारी गराउनुभएको थियो।
कमिज सुरूवाल र ढाकाटोपी अनि लामो चन्दनको टीको लगाएर लौरो टेक्दै टोलमा सबैलाई आशीर्वादका वाणी छर्ने गुरुबा र पहेँलो वस्त्र (सारी) मा रातो मखमलको ठूलो टीकामा मुसुक्क मुस्कुराइरहेकी वृद्ध गुरूआमाको मुहार मेरो मस्तिष्कमा प्रतिबिम्बित भएको थियो। ठिक विपरीत हाम्रै उमेरभन्दा अलिकति माथिका सशक्त र अधबैँसे व्यक्तित्व हुनुहुँदो रहेछ दुवै जना। छक्क परेँ। लौरो टेकेर हिँड्ने मानिसको घरमा बास बस्दा उहाँहरूलाई हाम्रो बसाइँले कति कष्ट देला भन्ने पीर परिरहेको थियो तर उहाँहरू त सहृदय बोकेर बाँचिरहेका सशक्त व्यक्तित्व पो हुनुहुँदो रहेछ। अझ हामी त पारिवारिक नातेदार दाजुबहिनी रहेछौँ। आफ्नै ठाउँ जता गयो उतै माइती-मावली— कति भाग्यमानी म। आरामले माइतको बसाइँँमा स्नेह, प्रेम, सद्भाव, अपनत्व सबै-सबै मेरो भागमा। इलाम मेरो माइतीको आँगन। नर्वदा दिदी र भिनाजुको स्नेही व्यवहारले नयाँबजारलाई सधैँ हृदयमा राखिरहन बाध्य बनाएर छोड्यो।
मायाको चिनोस्वरूप हामीलाई उपहार प्रदान गरेर बिदाइको क्रम निकै लामो चल्यो। बिहान चाँडै मीरा दिदीले छोरीलाई घर पठाएझैँ टीका लगाएर दक्षिणा दिँदै आशीर्वाद दिँदा मनको अन्तस्करण रसिलो बनेको थियो। आँखाका डिलसम्म समुद्रको तह उक्लिएको थियो। बाँधलाई दह्रो बनाएर जोगाइराखेँ। सबै भावुक थियौँ दिदीघरबाट बिदा हुँदा। सीताराम भिनाजु र दिदी हामीलाई बिदा गर्न काफ्ले होटलसम्म आउनुभयो। हामी एउटै परिवारझैँ बिदाइमा अपनत्व साटिरहेका थियौँ।
नर्वदा दिदी र ढाका भिनाजुको खाना खाने निम्तोलाई पूरा गर्न सकेनौँ। हेम सरका काकाको छोरा यदुनाथ दाजुले मङ्गलबार बिहान मेरोमा खाना खुवाउने पाहुनालाई भनेर बेलुकै भेट्न आउनुभएको थियो। समय-अभावले पूरा गर्न नसक्दा दुःखी भयो मन। थुम्केरानीको काखमा मङ्गलबारको बिहानी नयाँबजारले अँगालेको थियो हामीलाई। स्नेही मनहरू हाम्रो स्वागत, सत्कार र बिदाइमा उस्तै उत्साहित हुनुहुन्थ्यो। कुनै क्षण आतिथ्यको तह तल आएन। हाम्रो हृदयले झन्-झन् चुली बनाइरह्यो। थुम्केअगाडि बसेर म सगरमाथाको उचाइ देखिरहेकी थिएँ तर हृदय बिदाइमा स्नेहले समुद्रको गहिराइ छोइरहेथ्यो।
'भोलि बिहान हामी वरिपरिका ठाउँ हेर्न निस्कन्छौँ। चाँडो उठ्नुस् है म्याम सरहरू' मीरा दिदीको घरमा इलामको पहिलो रातको सङ्गीत साँझ मनाएर केशव दाजुको घरतिर झर्दै गर्दा हेम सरले हामी चारै जना रेखा म्याम, अनिता, सुभास सर र मलाई सचेत गराउनुभयो।
यात्राको थकाइले चाँडै सुतेका हामी उठ्न पनि ३:३० मै उठिसकेछौँ। उठेर नियमित कार्य सकेर तयार भएका हामी हेम सरको फोन आउनासाथ काफ्ले होटलमा बस्नुभएको सुभाष सरलाई बोलाउँदै हेम सरको घरअगाडि चोकमा पुग्यौँ। नेपालकै सबैभन्दा अग्लो गणेशजीको सुन्दर स्निग्ध मूर्तिको हामीले बाटैबाट दर्शन पायौँ।
सरको घरको बरन्डाबाट नजिकै देखिने गणेशजीको मूर्तिले घरलाई मात्र होइन नयाँबजारलाई नै सकारात्मक ऊर्जा र सुरक्षा प्रदान गरिरहेको छ जस्तो लाग्यो। यात्राको पाइलाले मूर्ति र नजिकैको शिव मन्दिरलाई फन्को लगाएर हामी उत्तरे पोखरीतिर लाग्यौँ। नाम सुन्दै जिज्ञासा बढेको थियो। उत्तरतिर छाती फिजाएर पर्यटकलाई न्यानो स्वागत गर्न बसेको उत्तरे पोखरी इलामको एउटा महत्त्वपूर्ण तर ओझेल परेको पर्यटकीय गन्तव्य रहेछ। घना वनको बाटो हामी उत्तरेतिर लम्कँदै गर्दा हेम सरले 'यो रातो हाब्रेको कोर एरिया हो। यो जङ्गलमा हाब्रे भेटिन्छ। अघि तल चोकमा रेड पान्डा चोक देख्नुभयो नि। यसै कारणले त्यो चोकलाई रेड पान्डा/रातो हाब्रे चोक भनिएको हो।' भनी जानकारी गराउनुभयो।
'ओहो! सर वन त पूरै औषधिजन्य बोटबिरूवाको पो रहेछ।'
हामीले लगभग एकै स्वरमा जिज्ञासा राख्यौँ। सर हामीलाई बोटबिरुवाका नाम र औषधिको काम बताउँदै वर्णन गर्दै हुनुहुन्थ्यो। सविता बहिनी पनि आफ्नो दाजुलाई वर्णनमा सहयोग गरिरहनुभएको थियो। हामी सजिलो, अप्ठ्यारो, हिलो, ओभानो सबैखाले बाटोबाट सहयात्रा गर्दै उत्तरे पोखरी पुग्यौँ। प्रकृतिले सुन्दरताको वर्णन गर्न मानिसहरू कन्दरासम्म आऊन् भनेरै पोखरीलाई यसरी लुकाएर बनाएकी होलिन् जस्तो लागिरहेथ्यो।
सरले हाम्रो जिज्ञासालाई मेटिदिँदै भन्नुभयो, 'यो उत्तरे पोखरी बालगुरुले बनाउनुभएको हो। यो माईजोगमाई विशेष पर्यटकीय गन्तव्य हो।' साँच्चै प्रकृतिले भरिपूर्ण हाम्रो पर्यावरण औषधिजन्य वनस्पतिको भण्डार रहेछ। जता हेरे पनि औषधिको बोट छ।
हेम सरले, 'यस्तो छ हाम्रो भूगोलभित्र औषधिको खानी तर कसैले चिन्ने र महसुस गर्ने कार्य गरेको छैन' भन्दै गुनासो पोखिरहँदा मलाई लाग्यो, बरु यो कसैले नचिनून् तर यसलाई चिनेर विनाश हुनु भनेको प्रकृतिमाथि ठूलो अपराध हुनेछ। मलाई मानिसको विनाशकारी चरित्रले चिन्तित बनाइरह्यो। अचेल त जनावरसँग भन्दा पनि मान्छेसँग बढी डर लाग्छ मलाई।
हामी महत्त्वपूर्ण जानकारी लिँदै 'उत्तरे पोखरी काव्यप्रभात' को कार्यक्रममा व्यस्त भयौँ। कविता वाचनको सिलसिला निकै लामो चल्यो। सुभाष सरले निकै चोटिलो कविता प्रवाह गर्नुभयो। रेखा म्यामको कविताले मुटु रोकिएझैँ भयो।
अनिताको कविताको गुल्जार नै अर्कै थियो। उत्तरेको पानीलाई तरङ्गित पार्ने कविताहरू सबै-सबैले वाचन गर्नुभयो। सविता बहिनीको सुन्दर कवितासँगै हेम सरले मिठो गीत सुनाउनुभयो। 'जहाँ न पहुँचे रवि, वहाँ पहुँचे कवि' भनेझैँ उत्तरे पोखरीको डिलमा उभिएर मैले पनि ‘बालुवाको घर’ शीर्षकको कविता वाचन गरेकी थिएँ। यति घुम्दा पनि मलुपोखरी पुगेर आँखाले स्पर्श गर्ने अवसर भने प्राप्त भएन। सायद इलामले हामीलाई फेरि बोलाउने बाटो राखेको हुन सक्छ। हाम्रो मनलाई इलामले लगामझैँ खिचिरहेको छ। (क्रमशः चौथो भागमा....)
यी पनि:
आँखामा थुम्केरानी, हृदयमा इलाम
थुम्केरानी फुल्छन् जहाँ प्रकृति, कविता र सम्बन्ध