अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक्ट–७ए बाट हाउस अफ डेलिगेट्स सदस्यका लागि डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा नेपाली मूलका युवा सतीश चापागाईं विजयी भएका छन्।
जुन २३ मा भएको निर्वाचनमा उनी १० हजार ४०२ मतमध्ये २ हजार ७१८ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका हुन्।
यससँगै उनले आगामी नोभेम्बरमा रिपब्लिकन उम्मेदवारसँग हुने मुख्य निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।
हाल मेरिल्याण्ड राज्य डेमोक्रेटिक पार्टीका निर्वाचित केन्द्रीय सदस्य रहेका सतीस साना व्यवसायी, बाल्टिमोर काउन्टी पब्लिक स्कुलका दोभाषे तथा विभिन्न सामाजिक संस्थामा सक्रिय छन्।
उनले महँगी नियन्त्रण, सुरक्षित समुदाय निर्माण र स्थानीय व्यवसाय प्रवर्द्धनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्।
साहित्य, सामाजिक सेवा र नेपाली समुदायमा पनि सक्रिय चापागाईंको यो सफलता अमेरिकाको स्थानीय राजनीतिमा नेपाली समुदायको बढ्दो सहभागिताको अर्को उदाहरणका रूपमा हेरिएको छ।