गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आगामी नेतृत्वका लागि महासचिव सन्तोष कुँवरले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
आगामी जुलाई २६ मा हुने निर्वाचनका लागि कुँवरले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
एक दशकभन्दा लामो समयसम्म एनआरएनए अस्ट्रेलियामा सक्रिय रहेको भन्दै कुँवरले संस्थाको दिगो विकास, पारदर्शिता र संस्थागत सुदृढीकरणका लागि नेतृत्व लिन चाहेको बताए।
कुँवरको एनआरएनए यात्रा राज्य समन्वय परिषदको सचिव पदबाट सुरू भएको थियो। त्यसपछि उनी क्रमशः राज्य संयोजक (२०१७–१९), आइसिसी सदस्य (२०१९–२१), ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१–२३) हुँदै हाल महासचिवको रूपमा क्रियाशील छन्।
'एनआरएनएको यो यात्राका क्रममा विभिन्न तह र तप्कामा बसेर मैले संस्थालाई प्रविधिमैत्री, आर्थिक पारदर्शिता र सरकारी समन्वययुक्त बनाउनेतर्फ निरन्तर काम गरेँ,' कुँवरले भने, 'अब अध्यक्षका रूपमा संस्थालाई नेतृत्व गर्न पाए दुई वर्षमा संस्थालाई सबै प्रवासी नेपालीको बनाउनतर्फ अग्रसर हुनेछु।'
विद्यार्थी भिसामा सन् २००९ मा अस्ट्रेलिया आएका उनले २०१० मा मास्टर्स गरेपछि व्यवसायमा हात हालेका थिए।
अस्ट्रेलियाको ‘माइग्रेसन ल एन्ड प्राक्टिस’मा स्नातक गरेका उनले सन् २०१८ देखि ब्रिसबेनमा माइग्रेसन्ट एजेन्टको रूपमा व्यवसाय सञ्चालन गरिरहेका छन्।
यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको २०२५–२०२७ को नयाँ कार्यकालका लागि सन्जिब ढकाल 'गोर्खाली' ले पनि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।
ढकालले सामाजिक सञ्जालमार्फत उम्मेदवारी सार्वजनिक गर्दै यो अभियान केबल नेतृत्वको लागि नभई, स्पष्ट कार्यदिशा, जवाफदेहिता र सहभागितामूलक समुदाय निर्माणको लागि भएको उल्लेख गरका हुन्।
१५ हजार ३ सय बढी मतदाता रहेको अस्ट्रेलियाको दुई वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्न जुलाई २६ मा निर्वाचन हुँदैछ।