स्वस्तिका खरेल बोहरा क्षेत्री हाल जर्मनीको बाड हेर्सफेल्ड सहरमा बसोबास गर्दै आएकी छन्।
उनी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्।
हाल उनी जर्मनीको बाड हेर्सफेल्ड क्लिनिकुम अस्पतालमा कार्यरत छिन्।
'यहाँ काम गरेको पाँच वर्षभन्दा बढी भयो,' उनले भनिन्।
सन् २०२० नोभेम्बरमा उनी गाइनोकोलोजी (स्त्रीरोग) विभागमा रिक्त पदका लागि आवेदन दिएर उक्त अस्पतालमा पुगेकी हुन्।
स्वस्तिका सन् २००९ मा चिकित्साशास्त्र अध्ययनका लागि जर्मनी गएकी थिइन्। नेपालको तुलनामा जर्मनीमा चिकित्सा शिक्षाको खर्च कम हुने भएकाले आफू गएको उनले बताइन्।
'नेपालमा आंशिक छात्रवृत्ति पनि धेरै हुन्छ,' उनले भनिन्, 'एक कन्सल्टेन्सीमार्फत जर्मनीमा छात्रवृत्तिको अवसरबारे सुनेकी थिएँ। त्यही भएर यहाँ आएँ।'
स्वस्तिकाले नेपालमै हुँदा बी–२ तहसम्म जर्मन भाषा अध्ययन गरेकी थिइन्। जर्मनी आएपछि एलएमयू विश्वविद्यालयबाट भाषा प्रवेश परीक्षाको अनुमति पाइन्।
नेपालको शैक्षिक योग्यता मात्र विश्वविद्यालय अध्ययनका लागि पर्याप्त नहुने भएकाले उनले थप सात–आठ महिना भाषा अध्ययन गरिन् र प्रवेश परीक्षा उत्तीर्ण भइन्।
अध्ययनका क्रममा बसोबास र खानपानको सम्पूर्ण खर्च उनले आफै व्यवस्थापन गर्नुपरेको थियो। उनले पाएको भिसाले काम गर्न अनुमति दिँदैन थियो।
'मेरा साथीहरूले काम गर्न पाउँथे। मैले पाउँदिनँ थिएँ,' उनले सुनाइन्, 'पछि मैले पनि काम गर्ने अनुमति मागेँ। आवश्यक प्रक्रिया पूरा गरेपछि अनुमति दियो।'
आवश्यक प्रक्रिया पूरा गर्न उनले दुर्घटना बीमा सम्बन्धी कागजात तथा अन्य शैक्षिक योग्यता प्रमाणित गर्ने कागजातहरू सम्बन्धित निकायमा बुझाइन्।
त्यसपछि पढ्दै पार्ट–टाइम काम गर्न थालिन्। यसले उनको दैनिकी अलि सहज भयो।
होटलमा कोठा सफा गर्ने, हस्तकला सम्बन्धी संस्थामा वृद्धवृद्धालाई खाना खुवाउने तथा घरमै पुगेर सहयोग गर्ने काम गरिन्। यसले जर्मन भाषा सुधार्न सहयोग पुगेको उनको अनुभव छ।
भाषा अध्ययन पूरा गरेपछि उनले जर्मनीको जेना विश्वविद्यालय र एलएमयू म्युनिख विश्वविद्यालयमा 'स्टुडियनकोलेग' का लागि प्रवेश परीक्षा दिइन्। उनको नाम जेना विश्वविद्यालयमा निस्कियो।
स्टुडियनकोलेग भनेको जर्मनीमा विश्वविद्यालय पढ्नुअघि विदेशी विद्यार्थीले गर्ने तयारी कक्षा हो।
'त्यसमा एक वर्ष पढ्नुपर्छ। हाम्रो यहाँ १२ वर्ष स्कुल हुन्छ भने जर्मनीमा १३ वर्षको हुन्छ। त्यो एक वर्ष हामीले बायोलोजी, केमेस्ट्री, फिजिक्स लगायत आठ वटा विषय जर्मन भाषामा पढ्छौं,' उनले सुनाइन्।
त्यो एक वर्षको कोर्स सकिएपछि तीन महिना बिदा थियो। उनले बिदाको सदुपयोग गर्न मासु प्रशोधन उद्योगमा काम गर्न पुगिन्।

क्लोपेनबर्ग क्षेत्रमा रहेको उक्त उद्योगमा उनले मासु प्याकिङको काम गर्थिन्।
स्वस्तिका उक्त एक वर्षको पढाइमा पास भइन्। त्यसपछि जेनामा चिकित्सा शिक्षा पढाइ सुरू भयो। करिब सात वर्ष एमबिबिएस अध्ययन क्रममा उनले पढाइसँगै अस्पताल, वृद्धाश्रम, विमानस्थल तथा क्याफेमा समेत काम गरिन्।
सन् २०१९ मा उनको पढाइ सकियो। त्यसपछि प्रायोगिक वर्ष (प्राक्टिकल इयर) का लागि फ्र्यांकफर्ट सरिन्।
उक्त अवधिमा चिकित्सा, शल्यक्रिया र स्त्रीरोग विभागमा अस्पतालमै काम गर्नुपर्ने व्यवस्था थियो। उनले अभ्यासका लागि सेन्ट एलिजाबेन्थेन अस्पताल रोजिन्।
अध्ययन क्रममा देखाएको मेहनत र रूचिका आधारमा अन्तिम परीक्षा दिनुअघि नै उनले उक्त अस्पतालमा रोजगारीका लागि आवेदन दिएकी थिइन्। परीक्षा उत्तीर्ण गरेपछि त्यही अस्पतालमा काम सुरू गरिन्।
'छोटो समय काम गरेँ। त्यसपछि यहाँ (हाल कार्यरत बाड हेर्सफेल्ड क्लिनिकुम अस्पतालमा) आएँ,' उनले सुनाइन्।
उनी अहिले बच्चा स्याहार बिदामा छिन्।
जर्मनीमा अभिभावक बिदा अन्तर्गत एक वर्षसम्म तलबी बिदा तथा आवश्यकता अनुसार दुई वर्षसम्म बिदा लिन सकिने व्यवस्था रहेको उनले बताइन्।
नोभेम्बरदेखि पुनः काममा फर्किने तयारीमा छिन् उनी।
स्वस्तिकालाई सुरूमा बालरोग विशेषज्ञ बन्न रूचि थियो। तर अभ्यास क्रममा उनले बालरोग उपचारमा बिरामीभन्दा अभिभावकसँग बढी समन्वय गर्नुपर्ने अवस्था देखिन्।
'अभिभावकहरू धेरै संवेदनशील र सुरक्षात्मक हुने भएकाले दीर्घकालसम्म काम गर्न सहज महसुस भएन। त्यसैले स्त्रीरोग तथा प्रसूति सेवातर्फ लागेँ,' उनले भनिन्।
स्त्रीरोग तथा प्रसूति सेवा शारीरिक मात्र नभई मानसिक रूपमा पनि चुनौतीपूर्ण क्षेत्र रहेको उनी बताउँछिन्। यस क्रममा जबरजस्ती करणीका घटनासँग सम्बन्धित बिरामीको पनि उपचार गर्नुपर्ने हुन्छ। हालसम्म उनले यस्ता दुई/तीन वटा घटना नजिकबाट हेरेकी छन्।
'यस्ता घटनामा अदालतमा गएर समेत बहस पनि गर्नुपर्ने हुन्छ। तर अहिलेसम्म त्यस्तो परेको छैन,' स्वस्तिकाले भनिन्।
आफू आमा बनेपछि गर्भवती र बिरामीको अवस्था अझ गहिरोसँग बुझ्न थालेको उनको भनाइ छ।
'पहिले पनि गभावनात्मक रूपमा जोडिएरै कुरा गरिन्थ्यो। आफै आमा भएपछि माया र व्यवहार झनै भावनात्मक हुने रहेछ,' उनले भनिन्।
आगामी दिनमा स्त्रीरोग तथा प्रसूति सेवामै रहेर शल्यक्रिया क्षेत्रमा आफ्नो दक्षता थप बढाउने योजना स्वस्तिकाको छ।