हेटौंडाका महेश्वर रूपाखेती हाल जर्मनीको बर्लिन सहरमा बस्छन्। पेसाले उनी जलवायु वैज्ञानिक (क्लाइमेट साइन्टिस्ट) हुन्।
उनी रिसर्च इन्स्टिच्युट फर सस्टेनेबिलिटी नामक संस्थामा क्लाइमेट साइन्टिस्टका रूपमा कार्यरत छन्। यो जर्मन सरकारको सहयोग प्राप्त स्वतन्त्र अनुसन्धान संस्थाका रूपमा परिचित छ।
महेश्वरले त्यहाँ काम गरेको १४ वर्ष भयो। उनी एक अनुसन्धान समूहका प्रमुख हुन्।
उनको मुख्य विशेषज्ञता वायु प्रदूषण र जलवायु परिवर्तनबीचको सम्बन्धबारे अनुसन्धान गर्नु हो।
'यी दुई विषयले एकअर्कालाई कसरी प्रभावित गर्छन् भन्ने विषय मेरो अनुसन्धानको मुख्य क्षेत्र हो,' महेश्वरले भने, 'यो क्षेत्रमा काम गरेको धेरै समय भयो।'
उनका अनुसार यो संस्थाले दक्षिण एसियालाई केन्द्रमा राखेर वायु प्रदूषण र जलवायु परिवर्तन सम्बन्धी अनुसन्धान गर्दै आएको छ। विशेषगरी वायु प्रदूषणको वर्तमान अवस्था, त्यसले जलवायु परिवर्तनमा पार्ने प्रभाव तथा यी दुवैको संयुक्त असरले मनसुन लगायत मौसम प्रणालीमा पार्ने प्रभावबारे अध्ययन गरिने उनले बताए।
वायु प्रदूषणले ग्लोबल वार्मिङ बढाउन वा कम गर्न कस्तो भूमिका खेल्छ भन्ने विषयमा पनि अनुसन्धान गर्दै आएको छ।
'हामीले विगत १० वर्षमा एक सयभन्दा बढी वैज्ञानिक अनुसन्धान पत्र (साइन्स्टिफिक रिसर्च पेपर) प्रकाशित गरिसकेका छौं,' उनले भने।
उनी सन् २०१२ मा जर्मनी गएका हुन्। त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातकोत्तर गरेपछि उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (बैंकक) बाट वातावरणीय इन्जिनियरिङ तथा व्यवस्थापनमा स्नातकोत्तर सके। त्यसपछि एक वर्ष काम गरे र विद्यावारिधि गर्न क्यानडा गए।
विद्यावारिधि सकेर फेरि बैंकक फर्किए। संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रममा ६ वर्ष काम गरे। त्यसपछि जर्मनीको हाल कार्यरत संस्थामा आबद्ध भएका हुन्।
'यो संस्थामा काम गर्न भनेरै म जर्मनी आएको हुँ,' उनले भने, 'साइन्स म्यानेजमेन्टभन्दा प्रत्यक्ष वैज्ञानिक अनुसन्धान गर्ने चाहनाले यो इन्स्टिच्युटमा आबद्ध भएँ।'
उनका अनुसार संस्थाले वास्तविक जीवनमा देखिएका समस्या केन्द्रमा राखेर इन्टरडिसिप्लिनरी रिसर्च पद्धतिबाट अनुसन्धान गर्दै आएको छ। कुनै समस्यालाई एउटै विषय वा दृष्टिकोणबाट मात्र नभई विभिन्न पक्षबाट समग्र रूपमा बुझ्ने र विश्लेषण गर्न यस्तो पद्धति अपनाइएको हो।
यस्तो अनुसन्धान पद्धतिबाट दीर्घकालीन तथा दिगो समाधान खोज्न सहयोग पुग्ने उनले बताए।
महेश्वरका अनुसार उक्त संस्थामा भारत, चीन, बंगलादेश, नेपाल लगायत करिब ४० देशका अनुसन्धानकर्ता कार्यरत छन्। स्थायी कर्मचारीका रूपमा त्यहाँ काम गर्ने आफू एक्लो नेपाली उनको भनाइ छ।
'कहिलेकाहीँ पिएचडीका विद्यार्थीहरू पनि अनुसन्धानमा संलग्न हुन्छन्। तर स्थायी कर्मचारी चाहिँ नेपाली म एक्लै हुँ,' उनले भने।
उनका अनुसार ठूलो समूह भए पनि काम गर्ने वातावरण सहज छ। विभिन्न समूहबीच सहकार्य गरेर काम गरिने भएकाले अनुसन्धान व्यवस्थित र प्रभावकारी रूपमा अघि बढ्छ।
कुनै विषयमा सबैले आ–आफ्नो विचार राख्ने, तर्कसहित छलफल गर्ने र कसैले उठाएको विचार अस्वीकार गर्नुपर्ने भए स्पष्ट कारणसहित प्रस्तुत गर्ने तथा तर्क स्वीकार्य भए स्वीकार गर्ने संस्कार रहेको उनले बताए।
'समूहमा काम गर्दा एकअर्काको कुरा सुन्ने, तर्कका आधारमा मूल्यांकन गर्ने र सहमतिको आधारमा अघि बढ्ने काम हुन्छ,' महेश्वरले भने, 'यसले अनुसन्धान अझ प्रभावकारी बनाउँछ।'