पुष्पराज जोशी अनुसन्धान वैज्ञानिक, प्राध्यापक तथा ग्लोबल हेल्थ विशेषज्ञ हुन्। उनी जर्मनीको बर्लिन सहर नजिकै बस्छन्।
जर्मनीमा दुई दशकभन्दा बढी समयदेखि उनी अनुसन्धान, अध्यापन र अन्तर्राष्ट्रिय सहकार्यमा केन्द्रित छन्। उनका ५० भन्दा बढी अनुसन्धान लेख अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलहरूमा प्रकाशित छन्।
पुष्प गत अप्रिलदेखि ब्रेमेनस्थित एपोलोन युनिभर्सिटी अफ एप्लाइड साइन्सेसमा ग्लोबल तथा पब्लिक हेल्थ विषयका पाठ्यक्रम विकासकर्ता तथा थेसिस सुपरभाइजरका रूपमा आबद्ध भएका छन्।
यो भूमिकामा उनले पाठ्यक्रम विकास, अनुसन्धान समन्वय तथा स्वास्थ्य र वातावरणीय चुनौतीसँग सम्बन्धित विद्यार्थी अनुसन्धान परियोजनाहरूको निर्देशन गर्छन्।
'पाठ्यक्रम विकास, अनुसन्धान तथा विद्यार्थीलाई गाइड गर्नुपर्छ,' पुष्पले भने।
उनका अनुसार सो विश्वविद्यालयमा ग्लोबल एण्ड पब्लिक हेल्थ विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्छन्। उनी ती विद्यार्थीलाई पढाउँछन् पनि।
त्यसअघि उनी मार्टिन लुथर युनिभर्सिटी हाले–विटेनबर्गको जनरल प्राक्टिस विभागमा अनुसन्धानकर्ता तथा सह–प्राध्यापकका रूपमा कार्यरत थिए।
'त्यहाँबाट मैले विद्यावारिधि सकेँ। त्यसपछि त्यहीँ काम गर्न थालेँ,' उनले भने, 'स्वास्थ्य सेवा अनुसन्धान र स्वास्थ्य अर्थशास्त्रतर्फ आफ्नो कार्यक्षेत्र विस्तार गरेँ।'
पुष्प सन् २००४ मा स्नातकोत्तर पढ्न जर्मनी गएका हुन्।

काठमाडौंमा जन्मिएका उनलाई रोजगारीको बाध्यता थिएन। पढाइमै ध्यान दिए। सुरूमा विदेश जाने योजना पनि थिएन।
उनलाई जर्मन भाषाका अग्रणी विशेषज्ञ काठमाडौंस्थित गोथे केन्द्रका संस्थापक निर्देशक माइकल चन्दले प्रेरणा दिए।
'उहाँ मेरा बुबाको साथी हुनुहुन्थ्यो। उहाँकै प्रेरणाले मैले स्नातकको अन्तिमतिर जर्मन भाषा सिक्न थालेँ,' पुष्पले भने।
भाषा सीपसँगै उनले गोथे केन्द्रमार्फत जर्मन दूतावासद्वारा प्रदान गरिने शैक्षिक परामर्श कार्यक्रमहरूबाट जर्मनीमा उच्च शिक्षाका अवसरबारे जानकारी लिए।
त्यही क्रममा जर्मनीको मार्टिन लुथर विश्वविद्यालय अफ हाले–विटेनबर्गमा बायोमेडिकल साइन्स पढ्न अवसर प्राप्त गरे। जर्मन एकेडेमिक एक्सचेन्ज प्रोग्राम अन्तर्गतले उनले आंशिक (५० प्रतिशत) छात्रवृत्ति पाए।
स्नातकोत्तर पढ्ने क्रममा उनले विश्वविद्यालयको टिचिङ हस्पिटल अन्तर्गत न्युरोलोजी रिसर्च ल्याबमा न्युरो–मस्कुलर तथा दुर्लभ (रेयर) रोग सम्बन्धी विषयमा थेसिस अनुसन्धान गरे।
स्नातकोत्तर तह पूरा गरेपछि नेपाल फर्किने उनको योजना थियो।
'पारिवारिक तथा शैक्षिक कारणले त्यहीँ बस्ने निर्णय भयो। त्यसपछि पिएचडी सुरू गरेँ,' उनले भने।
पिएचडी गर्दा उनी युकेको न्युक्यासल विश्वविद्यालयमा करिब चार महिना नयाँ अनुसन्धान प्रविधि (टेक्निक) सम्बन्धी तालिम लिन गए।
त्यहाँ सिकेका प्रविधि पछि उनले जर्मनीस्थित आफ्नो प्रयोगशालामा अभ्यास गर्न थाले। त्यसले माइटोकन्ड्रियल रोग भएका बिरामीको पहिचान र विश्लेषणमा सहयोग पुर्याएको उनको भनाइ छ।
'सन् २०१९ मा मैले जर्मनीको उच्चतम शैक्षिक योग्यता मानिने हाबिलिटेसन पूरा गरे। यो अध्ययन दुर्लभ मेटाबोलिक मांसपेशी रोग कार्निटिन पाल्मिटोयल ट्रान्सफेरेजको क्लिनिकल, जैवरासायनिक तथा आनुवांशिक विशेषताहरूमा केन्द्रित थियो।
विश्वभर यो रोगको पहिचान गरिएका करिब ४०० बिरामीमध्ये लगभग १०० बिरामीको विस्तृत अध्ययन र विश्लेषण गर्ने काममा उनको नेतृत्वदायी भूमिका छ।
विद्यावारिधि पूरा गरेपछि उनी पूर्ण रूपमा पढाउन र अध्ययन तथा अनुसन्धानमा संलग्न छन्।
अध्ययन तथा अनुसन्धान क्रममा जर्मन सोसाइटी अफ न्युरो–मस्कुलर डिजिजले सम्मान गरेको उनले बताए। त्यस्तै अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट क्लिनिकल रिसर्चरको उपाधि पनि पायका छन्।
पुष्प सिर्जनात्मक लेखकका रूपमा पनि परिचित छन्। स्वास्थ्य, शिक्षा तथा समसामयिक विषयमा नेपाली मिडियाहरूमा पनि विचार तथा लेख छापिएका छन्।
साहित्यिक यात्रा अगाडि बढाउँदै उनले हालै बालबालिकाका लागि रहस्य कथामा आधारित पुस्तक 'द क्लु क्याचर्स' ल्याएका छन्।
'यसलाई नेपालका केही स्कुलमा सन्दर्भ पुस्तकका रूपमा समावेश गरिएको,' पुष्पले भने।
